केपी ओली नेतृत्वको सरकारमा प्रचण्डले टुंगो लगाए माओवादीका चार मन्त्रीको नाम
काठमाण्डौ, ९ फागुन । माओवादी केन्द्रले आफ्ना तर्फबाट केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम करिब टुंगो लगाएको छ ।
माओवादीले वर्तमान मन्त्रिपरिषद १६ सदस्यीय भए ६ मन्त्रालय पाउने छ । एमाले–माओवादीबीच १५ भन्दा बढी संख्याको मन्त्रिपरिषद भएको अवस्थामा थपिएको मन्त्रालयको अनुपातमा माओवादीले थप मन्त्रालय पाउने समझदारी छ । स्रोतका अनुसार माओवादी रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी हुनेछ । यस्तै ओली सरकारमा वर्षमान पुन, मातृका यादव र पम्फा भुसाल सहभागी हुने निश्चित भएको खुमलटार स्रोतले जानकारी दियो । काठमाण्डूटुडेमा खबर छ ।
‘उहाँहरु चारजना (थापा, पुन, यादव र भुसाल) को टुंगियो’, स्रोतले भन्यो, ‘बाँकी मन्त्रीको नाम चयन हुन बाँकी छ ।’ उनका अनुसार माओवादी केन्द्रको उपलब्ध कार्यालय सदस्यको बिहीबार बस्ने बैठकले मन्त्रीको नाम टुंगो लगाउने छ । मन्त्रीमा नाम टुंगो लागेका नेताहरुले भने बिहीबारै पद तथा गोपनियताको सपथ लिने सम्भावना छ । नाम तय भएकाहरुको पनि मन्त्रालय भने तोकिएको छैन । प्रधानमन्त्रीसँगको सल्लाहमा मन्त्रालय तोक्ने जिम्मेवारी प्रचण्डलाई दिइएको छ । थापा र पुन दुवैले गृह मन्त्रालयमा दाबी गरेका कारण प्रचण्डलाई अप्ठेरो परेको छ ।
थापा प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा रक्षामन्त्री थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका पुनले सफलतापूर्वक अर्थ मन्त्रालय हाँकेको श्रेय पाउँदै आएका छन् । प्रचण्डका विश्वासपात्र पुन माओवादीमा रणनीतिकारका रुपमा चिनिन्छिन् । यस्तै माओवादीमा टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्ति बस्नेत, अग्नि सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्ट, सुरेन्द्रकुमार कार्की, हितबहादुर तामाङ, जयपुरी घर्ती, शिवकुमार मण्डल, अमनलाल मोदी लगायत मन्त्रीका आकांक्षी छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि नेतृत्वलाई व्यवस्थापनको समस्या भएको छ ।


