यी हुन छविलाल, जसले युएईबाट घरमा पैसा पठाउँदा जिते १२ लाख !
फागुन १२ । स्याङ्जाको दरौं सिरुबारीका छविलाल दर्जीले युएईबाट घरमा पैसा पठाउँदा १२ लाख रुपैयाँ उपहार जित्नुभएको छ ।
आबुधाबीको अलजिमी मुसाफा मजदुर क्याम्प क्षेत्रबाट युएईको अल अहलिया एक्सचेन्ज मार्फत परिवारलाई पैसा पठाउँदा उहाँलाई उपहार स्वरुप १२ लाख रुपैयाँ बराबरको कार परेको हो ।
१६ सय ६० दिर्हाम अर्थात झण्डै ४७ हजार रुपैयाँ पठाउँदा उहाँले १२ लाख रुपैयाँ बराबरको कार जित्नुभएको हो ।
गएको सोमबार आबुधाबीमा खोलिएको ‘लक्की ड्र’ अन्तर्गत दोस्रो कुपनमा छविलालको नाम परेको हो । कारको सट्टा उहाँले अहिले त्यो बापतको पैसा पाउनु हुनेछ । उहाँलाई उपहारमा निसानको सनी कार परेको छ । अहिले युएईमा यो कारको मूल्य झण्डै ४५ हजार दिर्हाम पर्छ ।
त्यसबाट लाग्ने कर बापतको रकम कटौती गरेर छविलालले झण्डै ४० हजार दिर्हाम अथवा झण्डै १२ लाख रुपैयाँ पाउने अल अहलिया एक्स्चेन्ज मार्फत युएईमा सेन्चुरी बैकको रिजनल प्रमुख प्रकाश पौडेलले बताउनुभयो ।
छविलाल युएईको आबुधाबीमा रहेको एफजिएफ कम्पनीमा क्लिनरको काम गर्नुहुन्छ । उहाँ युएई आएको २६ महिना भयो । अल अहलिया एक्सचेन्जले संसारभर रेमिट्यान्स पठाउने ग्राहकका लागि ‘विन्टर स्किम’ चलाएको थियो । सन् २०१७ को डिसेम्बर २१ देखि २०१८ फ्रेबुअरी १८ सम्म पैसा पठाउने सबैको नाम ‘लक्की ड्र’मा राखिएको थियो ।
१० वटा निसानको सनी कार र एक किलो सुन उपहार समावेश स्किममा एक नेपाली सहित, एक श्रीलङ्कन र बाँकी भारतीय नागरिकलाई उपहार परेको छ ।
यस्तै मुख्य उपहार एक किलो सुन भारतीय नागरिक छेलमुथुकुमार दासलाइ परेको छ । विजेतालाइ कार्यक्रम गरेर संयुक्त रुपमा उपहार वितरण गर्नेे कम्पनीका अपरेशन हेड कमल सुब्बाले उज्यालोलाई जानकारी दिनुभयो ।
सन् २०१३ मा यही कम्पनीले चलाएको स्किममा रामबहादुर कटुवालले एक लाख दिर्हाम नगद उपहार पाउनुभएको थियो ।
यस्तो खुसी रेमिट्यान्सले दिन्छ भन्ने लागेको थिएन : छविलाल
छविलाल युएई आउनु अघि कतारमा काम गर्नुहुन्थ्यो । कतारमा छँदा नै उहाँले हिमालयन बैंकमा खाता खोल्नुभएको थियो । कतारबाट पनि म सधंै तलब बैंकको खातामा नै हाल्थें,’ छविलाल भन्नुहुन्छ ‘पैसा पठाउँदा यस्तो खुसी आउँछ भन्ने कहिल्यै सोचेको थिइनँ ।’
अल अहलिया एक्सचेन्जको मुसाफामा रहेको अल जिमी शाखामा घरमा पैसा पठाउनका पुग्नुभएका छविलाललाई एक्स्चेन्जकै कर्मचारीले स्किमको बारेमा बताएका थिए । – उमाकान्त पाण्डे/उज्यालो ।


