मन्त्री बाट ‘आउट’ भएपछि सभामुखमा आँखा, प्रचण्ड रिझाउन खुमलटारमा बास !

काठमाण्डौ, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच पावर सेयरिङमा सहमति भएसँगै माओवादीभित्र सभामुख र मन्त्रीका लागि लबिङ सुरु भएको छ ।

सहमतिअनुसार एमालेका भागमा १० मन्त्री परेका छन् भने माअ‍ोवादी केन्द्रका भागमा ७ जना मन्त्री भाग लागेका छन् । माअ‍ोवादीमा ७ जनाको कोटा छुट्याउन अध्यक्ष प्रचण्डसामू दर्जन बढी नेताको नाम लिष्टमा परेका छन् । मन्त्रालयको संख्या घटाएपछि मन्त्रीको संख्यामा पनि स्वतः घटेकाले प्रचण्ड अप्ठेरोमा परेका हुन् । मन्त्रीको सपथ सोमबार हुने बताएका प्रचण्डलाई यतिले मात्र पुग्ने छैन । उनले अब सभामुखका लािग टाउको दुखाउनुपर्ने भएको छ ।

वाम गठबन्धनका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको पावर सेयरिङ सहमति अनुसार राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा उपसभामुख एमालेले पाउनेछ । उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष माओवादी केन्द्रले पाउनेछ ।

सोही सहमतिका आधारमा माओवादी केन्द्रमा सभामुखका लागि पाँच नेताले लबिङ सुरु गरेका छन् केही नेताहरु भने मन्त्री हुने सम्भावनाबाट आउट भएका छन् । यसरी बाहिरिएका नेताहरुको सभामुख हुने दौड सुरु भएको छ ।

सभामुखको दौडमा निवर्तमान सभामुख ओनसरी घर्तीको नाम अगाडि छ । तर उनी प्रभावशाली मन्त्रालय पाए मन्त्री बनेर जाने सुरमा छिन् । पटक–पटक मन्त्री भएका र उपप्रधानमन्त्रीसहित सञ्चार, परराष्ट्र र अर्थमन्त्रालय समेत सम्हालेका कृष्णबहादुर महरा पछिल्लो समय सभामुख बन्ने दौडमा लागेका छन् ।

माओवादी केन्द्रबाट सरकारमा रामबहादुर थापा बादलले नेतृत्व गर्ने भए पछि उनी मन्त्रीको रेसबाट बाहिरिएका हुन् । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र देव गुरुङ पनि चर्चामा छन् ।

अघिल्लो पटक ओली नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री भएका टोपबहादुर रायमाझीसमेत मन्त्री हुने लाइनबाट बाहिरिए । उनी पनि सभामुखको लागि लविङ सुरु गरेका छन् । त्यस्तै माओवादी केन्द्रका नेता एवं प्रदेश–७ का ईञ्चार्ज समेत रहेका लेखराज भट्ट प्रचण्डकी बुहारी विना मगरलाई मन्त्री बनाएर आफू सभामुख हुने दौडमा लागेका छन् । उनले प्रचण्डलाई रिझाउन विनालाई मन्त्री बनाएर आफू नजानिँदो पाराले सभामुखको दौडमा रहेको बुझिएको छ ।

हुन त, प्रचण्डको ईच्छाविरुद्ध जानसक्ने तागत माओवादी केन्द्रमा कसैसँग छैन । तर, आफू एक्लैले निर्णय गर्दा परिवारवादको आरोप लाग्ने भएकाले कतैबाट प्रस्ताव आइदिओस् भन्ने प्रचण्ड चाहन्छन् । त्यही चाहना बुझेर भट्टले विनालाई मन्त्री बनाउन सिफारिस गरेका छन् ।

यसरी विनालाई मन्त्री बनाउन सिफारिसमार्फत् आफूले मन्त्री पद त्याग गरेजस्तो देखाएका मात्र छैनन्, आफ्नी बुहारीलाई मन्त्री बनाउने प्रचण्ड चाहनामा लिस्नो लगाइदिएर भट्टले आफू सभामुख बन्ने मार्ग पनि प्रसस्त गर्न खोजेको छन् ।

त्यस्तै नेता गुरुङ मन्त्री र सभामुख दुबैको लाइनमा छन् । बादल समूहका उनी बादलकै नेतृत्वमा माओवादी सरकारमा गएपछि उनी पर्ने सम्भावना कम देखिन्छ । पछिल्लो समय बादल समूह माओवादी केन्द्रमा हावी हुँदा सोही समूहबाट गुरुङको नाम सभामुखमा उठेको छ ।

यतिबेला प्रचण्ड निवास खुमलटारमा सभामुख र मन्त्री बन्नका लागि नेताहरुको लाइन लाग्ने गरेको खुमलटार स्रोत बताउँछ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पहिला मन्त्री बन्ने नेताहरुको टुंगो लागेपछि मात्र सभामुखको नाम टुंग्याउने बताइन् । काठमाण्डौटूडेबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।