ओली सरकारद्वारा नेपालमा लगानी गर्न चीनलाई आमन्त्रण !

केपी शर्मा ओली प्रधानमन्त्री भएलगतै चीनलाई प्राथमिकताको क्षेत्रमा लगानी गर्न नेपाल सरकारले आमन्त्रण गरेको छ । कृषि, पर्यटन, उर्जा, औषधि र भौतिक पूर्वाधार लगायत प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ ओली सरकारले चीन सरकारलाई आमन्त्रण गरेको हो ।

नेपालमा निर्यात औद्योगिक क्षेत्र ऐन २०१६, विशेष आर्थिक क्षेत्र २०१६, नेपाल व्यापार अभिबृद्धि रणनीति २०१६ लगायत व्यापार तथा लगानी भित्रयाउने ऐन-कानुनको निर्माण गरिएको छ । नेपाल व्यापार अभिवृद्धि रणनीतिले पाँच वर्षसम्म मुलुकमा तीव्ररुपमा औद्योगिक विकास गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा व्यापार तथा लगानी ल्याउन सहजीकरण गरिदिन नेपाल र चीनका संगठनलाई आग्रह गर्दै पत्र लेखेको हो । लगानी भित्रयाउन कानुनी प्रावधानलाई सहज र सरल बनाउने कुरा चीनलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

नेपाल-चीन पारिस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा चिनियाँ लगानी भित्र्याउन चीनका ब्यापारी र ब्यापारिक संघसंस्था ब्यग्रताका साथ पर्खिरहेका बताए । ‘केपी नेतृत्वको सरकारले लगानीमैत्री वातावरण बनाउनेमा चिनियाँ कम्पनी विश्वस्त रहेका छन्’, उनले भने ।

चीनस्थित सुईनिङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष मि वाङ्गले आफुसँगको भेटमा नेपालमा लगानीको लागि इच्छा प्रकट गरिसकेका पौडेलले बताए ।

उनले नेपालको आग्रहलाई चीनका संघसस्थाले सकारात्मक रुपमा लिँदै लगानीका लागि तयार भएको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि नजिकका दुवै ठुला छिमेकी चीन र भारत दुवैको सहयोग अपरिहार्य छ । मुलुकको तीव्र आर्थिक विकासका लागि नेपालले प्राथमिकतका केही क्षेत्र पनि निर्धारण गरेको छ ।

जसमा नेपालमा चीन र भारतबाट रेलसञ्जाल जोड्ने, पूर्व-पश्चिम जोड्ने तराई-पहाड दुवैका राजमार्गकलाई फराकिलो बनाउने तथा दोहोर अं‌कको आर्थिक वृद्धि र समुद्रमा नेपाली पानी जहाज चलाउने ओलीको सपना पुरा गर्न पनि चीन सहयोग अपरिहार्य छ ।

अघिल्लो पटक ओली सरकारको समयमा चीनको लगानी भित्रयाउने रणनीति आएको हो । ओलीले चीन भ्रमणमा गएर पारवाहनसहितका विभिन्न सम्झौता पनि गरेका थिए । त्यसपछि ओलीलाई भारत र भारतीय सञ्चारमाध्यमले चीननिकट भन्दै आएका छन् ।

अर्कातिर नेपालको उत्तर सीमा जोडिएको चीनसँग सहकार्यबिना नेपालको विकास अधुरो रहने विश्वाससाथ नेपालले चीनलाई लगानीका लागि बोलाएको हो । उत्तरी क्षेत्रको जटिल भूगोलबाट सडक र रेल विस्तार गर्न चीनको आर्थिक र प्राविधिक सहयोग अनिवार्य जस्तै छ ।

नेपालले आफैँ नयाँ संविधान जारी गरेपछि रिसाएको भारतले नाकाबन्दी गरेपछि सम्बन्ध बिग्रिएपछि नेपालले चीनसँग सहयोग लिने क्रम बढाएको हो । भारतसँग मात्रै रहेको व्यापार र अन्य कारोबार चीनसँग पनि विस्तार गर्न सडक र रेलसञ्जाल निर्माणलाई तीब्र बनाउने रणनीति ओली सरकारले बनाएको उनका एक सल्लाहकार बताउँछन् । तर ओलीसमक्ष छिमेकी फेर्न नसकिने सिद्धान्त अनुरुप भारत र चीनलाई समदुरीमा राखेर नेपालको विकास अघि बढाउने चुनौती पनि छ । – सुरेन्द्र काफ्ले / अन्नपुर्णपोष्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।