३६ लाख लाख ठगी मुद्दाकी फरार अभियुक्तलाई दिउँसो पक्राउ गरी साँझमा त्यसै छाडियो, यस्तो थियो घटना…

काठमाडौं, १७ फागुन ।गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरभित्र सांस्कृतिक कार्यक्रम भइरहेको थियो । बाहिर घुमुवा टोलीका तीन प्रहरी कसैलाई पक्रने सुरसारमा कुरिरहेका थिए । कार्यक्रम सकिएपछि प्रहरी टोलीले एक खुट्टाको भरमा नाच देखाएर चर्चा बटुलेकी रोमा न्यौपानेलाई पक्राउ गर्यो ।

रोमालाई सुरुमा महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्याइयो। त्यहाँबाट महानगरीय प्रहरी वृत्त, लैनचौर लगियो। लैनचौर वृत्तले दरबारमार्ग वृत्तमै फिर्ता पठायो। सोही साँझ दरबारमार्ग वृत्तले रोमालाई छाडिदियो।

आखिर कसैले भनेकै भरमा रोमालाई दिनभर कुरेर प्रहरीले किन पक्राउ गर्यो? अनि उनलाई दिनभर यताउता डुलाएर साँझ त्यत्तिकै किन छाडियो?

यस्तो थियो घटना
२०७२ साउन १९ मा कोहिनुर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले रोमाविरुद्ध साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता गरेका थिए। ठमेलमा भीएडी अर्थात ‘भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज’ नामक संस्था खोलेर रोमा र उनका श्रीमान चिरञ्जीवी पोख्रेलले त्यसमा लगानी गर्न सार्वजनिक विज्ञापन गरेका थिए।

लगानीको अवसर ठानेर कोहिनुरलगायतका तीनै जनाले रोमालाई पैसा दिएका थिए। रोमाले आफ्नो संस्थाबाट भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारीजस्तै संस्था पनि चलाएकी थिइन्। तर उक्त संस्था कहीँकतै दर्ता थिएन, तर त्यसले सहकारीको बचतकर्ताकै शैलीमा बचत पुस्तिका वितरण गरेको थियो।

महानगरीय प्रहरी परिसर, काठमाडौंले घटनामाथि अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयले २०७२ साउन १५ मा रोमा दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। ठगीमाथि अनुसन्धानका क्रममा प्रहरीले २०७२ वैशाखमा ठमेलबाट रोमाका श्रीमान चिरञ्जीवीलाई पक्राउ गर्‍यो भने रोमा फरार नै रहिन्।

अदालती प्रक्रियालाई समेत असहयोग गरेपछि रोमा फरार अभियुक्त भइन्। काठमाडौं जिल्ला अदालतले २०७३ पुस २६ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख बिगो जरिवानाको फैसला सुनायो।

फरार घोषित गरिएपछि पनि रोमा विभिन्न सार्वजनिक समारोहमा देखा पर्दै आएकी थिइन्। गत साता पीडितमध्येकी एकले फरार रोमा सार्वजनिक कार्यक्रममा रहेको भन्दै प्रहरीको हटलाइन सेवा एक सय नम्बरमा फोन गरेर सूचना दिएकी थिइन्। सोही सूचनाकै भरमा प्रहरीले दिनभर नाचघरबाहिर पर्खेर कार्यक्रम सकिएपछि रोमालाई पक्राउ गरेको थियो।

तर फरार अभियुक्तलाई समातेको प्रहरीले भने मुद्दाको गम्भीरता नै नबुझी सोही साँझ उनलाई छाडिदियो। काठमाडौं परिसरको मुद्दा शाखाका डिएसपी मोहन थापाले फरार अभियुक्तलाई पक्राउ गरेर छाडेकामा आश्चर्य व्यक्त गरे। उनले कान्तिपुरसँग भने, ‘मैले यताबाट पत्र पठाइसकेको थिएँ।’

परिसरले सोही साँझ चलानी नम्बर ४५२५ को पत्रमार्फत् रोमाको नाममा पक्राउ पुर्जी जारी गरेको देखिन्छ। उक्त पुर्जीमा लेखिएको छ, ‘अन्दाजी ३७ वर्षकी रोमा न्यौपाने पोख्रेललाई पक्राउ गरी बृत्तबाटै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदिनुहुन अनुरोध गरिएको छ। काठमाडौं जिल्ला अदालतस्रोतका अनुसार न्यायाधीश कृष्ण कोइरालाको इजलासले गत पुस २६ गते उक्त ठगी मुद्दामाथि आंशिक दाबी पुग्ने भन्दै अन्तिम आदेश जारी गरिसकेको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ ।

रोमाले आफूलाई किर्ते कागज, छाप र चलानीका आधारमा फसाउन खोजिएको दाबी गरिन्।

उनले शनिबार आफूलाई प्रहरीले बिनाकारण पक्राउ गरेको बताउँदै भनिन्, ‘म साक्षी बसेकै कारण मलाई फसाउन खोजियो। दु:ख दिने काम भयो।’ रोमाले आफ्नाविरुद्ध अदालतमा मुद्दा रहेको आफूलाई थाहा नभएको र अदालतबाट कुनै त्यस्तो पत्र नआएको बताइन्।

को हुन् रोमा?
२०७२ सालमा नेपाल सरकारबाट युवा प्रतिभा तथा युवा उद्यमी अवार्ड पाएकी रोमा नृत्य र अभिनयका क्षेत्रमा ख्याती कमाएकी कलाकार हुन्।

८ वर्षको उमेरमा बस दुर्घटनामा देब्रे खुट्टा गुमाएकी उनी एउटा खुट्टाकै भरमा कुशल नृत्य गर्न सक्ने भनी चर्चित भइन्। टेलिफिल्म र म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा देखाएकी उनले पछिल्ला वर्षमा देश(विदेशमा हुने स्टेज सोहरूमा नृत्य प्रस्तुत गर्ने गरेकी छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।