सलमान नआउँदा दुख नमाने हुन्छ : माग्ने बुढा

यसरी सम्झिए दिल्लीमा आफ्नो दाह्री काट्न वाध्य पारेको घटना

भारतीय अभिनेता सलमान खानको नेपाल यात्रा स्थगित भएपछि सामाजिक सञ्जाल तरंगित भएको छ । कलाकार्मीदेखि सर्वसाधारणसम्मले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् ।

देशको जल्दोबल्दो विषयमा तत्काल समाजिक सञ्जालमा प्रतिक्रिया जनाउने एक कलाकार हुन् केदार प्रसाद घिमिरे ‘माग्नेबुढा’ । उनले सलमानको कन्सर्ट स्थगित हुँदा धेरै दुख मान्नु नपर्ने भन्दै तात्तातो स्टाटस लेखेका छन् ।

माग्नेबुढा लेख्छन्, ‘इजरायल जाँदा मलाई दिल्लीमा दाह्री काट्न दिइएको दवाव, सुदरपश्चिमका जनताले भारतमा काम गरेर फर्किँदा बोर्डरमा सहेको हेपाई, कपिल आउँदा जितु नेपालको अपमान, सिमाना मिचाई, बेला-बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भए पनि धेरै दुख नमाने हुने देखिन्छ । हामीसँग पनि अनमोलहरु छन् ।’

त्यसपछि उनले ‘नोट’ मा लेखेका छन्, ‘नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ । नेपाली गीत संगीत पहिलो प्राथमिकतामा हुनुपर्छ । नेपाली मिडियामा आउने विज्ञापनमा नेपाली मोडेल हुनुपर्छ । नेपालमा जन्मिने बच्चाले पहिलो शब्द आमा नै बोलुन् , मदर, मा वा मम् नबोलुन् । भाषा सकियो देशै सकियो ।’

अन्तिममा उनले लेखेका छन्, ‘सुकिलो लुगा लगाएकी पल्ला घरकी आमाभन्दा झूत्रो लुगा लगाएकी आफ्नै आमा प्यारी ।’

उनको स्टाटसमा मिश्रति प्रतिक्रिया आएका छन् । कतिपयले नेपाली कलाकार पनि कार्यक्रम गर्न विदेश जाने भएकाले विदेशी कलाकार आउँदा आपत्ति जनाउनु नहुने बताएका छन् । धेरैले चाहिँ नेपालमा नेपाली कलाकारले नै प्राथमिकता पाउनुपर्ने माग्नेबुढाको भनाईमा समर्थन जनाएका छन् ।

हामीले माग्नेबुढालाई फोन गरेर सोध्यौं, ‘तपाईं लगायत नेपाली कलाकारहरु पनि विश्वका विभिन्न देशमा गएर कार्यक्रम प्रस्तुत गर्नुहुन्छ । विदेशबाट कलाकार आउँदा चैं आपत्ति जनाउनुपर्छ र ?’

उनले यस्तो जवाफ दिए, ‘हामीले विदेशमा गएर कार्यक्रम गर्ने भनेको त्यहाँ भएका नेपालीहरुको लागि हो । हाम्रो कार्यक्रम नेपालीहरुले टिकट काटेर हेर्छन् र त्यो पैसा नेपालमा जान्छ । तर, यहाँ भारतीय कलाकारले कार्यक्रम गर्दा टिकट काटेर हेर्ने भनेको नेपालीहरुले नै हो । यसबाट नेपालीको पैसा भारत जान्छ ।’

माग्नेबुढाले थपे, ‘नेपालमा भारतीयहरुले गर्ने कार्यक्रम हिन्दी भाषाको हुन्छ । नेपालीहरुका बीचमा उनीहरु हिन्दी गीतमा नाचगान गर्छन् । यो नेपाली भाषामाथिको अतिक्रमण पनि हो । यस्तै प्रचलनलाई प्रश्रय दिने हो भने भोली नेपाली कलाकारहरु भट्टीमा भेटिन थाल्छन् ।’

के भएको थियो दिल्लीमा ?

निकै वर्ष अगाडि संविधान नबनेर ल्याङल्याङ भइरहेको बेला माग्ने बुढाले एउटा घोषणा गरेका थिए, संविधान नबनिकन आफ्नो कपाल र दाह्री काटि्दन भनेर । त्यही बेला उनी कार्यक्रमका लागि इजरायल जानुपर्ने भयो । उनी दिल्ली एयरपोर्टमा पुगे । तर, त्यहाँ अध्यागमनका कर्मचारीहरुले उनको दाह्री र कपालमाथि आपत्ति जनाए । उनले आफू नेपालको सेलिबि्रटी भएको र यसकारणले दाह्री नकाटेको भन्दा पनि ती कर्मचारीले टेरपुच्छर लाएनन् । उल्टै थर्काए ।

अन्ततः उनी एयरपोर्टबाट बाहिर निस्केर दाह्री-कपाल काट्न बाध्य भए ।

‘त्यतिबेला ममाथि गरिएको अपमान कहिल्यै भुल्दिन,’ माग्ने भन्छन् ।

– अनलाईन खबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।