सीमानदी ‘महाकाली’ को कुरा उठाउँदै नारायणकाजीले भारतलाई दिए दह्रो दनक !

काठमाडौं । भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल बनाएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विरोध गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरबाट पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । एकतर्फीमा रुपमा भौतिक संरचना निर्माण गरेर भारतले हेपाहा प्रवत्ति देखाएको भन्दै यसलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

उनले लेखेका छन् :

“हामी भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्न चाहान्छौं। तर, भारतीय पक्ष भने आज पनि नेपाल माथि हेपाहा र बलमिच्च्याँईपुर्ण व्यवहार गर्दैछ। त्यसको पछिल्लो उदाहरण हो – सीमानदी महाकाली र त्यसवरपर नेपालीभूमिमा एकतर्फी रुपमा भारतद्वारा बनाउँदै गरिएका पुल, सडक जस्ता संरचना। सरकारले तत्काल रोकोस् ।”

केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ ।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन् ।

हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवत जावत गर्ने गरेका छन् । भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ । केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट डोजर ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो ।

भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ भने गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

भारतले आफूलाई आवश्यक पर्ने चारवटा अस्थायी काठे पुल निर्माण गरिसकेको छ । भारतले लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर तीनवटा डोजर आफ्नो भूमि लगेको छ । डोजरले नेपाली भूमिमा बाटोसमेत खनेको छ । नेपालको तम्बाकु खोलादेखि थिइको भिरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले जानकारी दिए ।

भारतले लगाउने झोलुंगे पुल तथा बाटो निर्माणका बारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेण्डासमेत बन्नेभएको थियो ।

काठेपुल निर्माण गरे/नगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालय बाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो । “सीमा नदीमा अस्थायी पुल निर्माण तथा दुई देशबीच सुरक्षाका हिसाबले कुनै पनि कार्य गर्दा समन्वय गर्नुपर्ने हो, भारतीय पक्षबाट समन्वय भएन, प्रजिअ गौतमले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।