१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको राम्रो सुरुवात
काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा हङ्कङ्ले नेपाललाई १५४ रनको चुनौती दिएको छ ।
जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको हङ्कङ्ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो ।
हङ्कङ्का लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुई÷दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए । अघिल्ला तीन खेलमा नेपालले पराजय भोगेको थियो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटले तथा तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।
नेपालको राम्रो सुरुवात
विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ । ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र अनिल साहले राम्रो सुरुवात गर्दै ५ ओभरमा २३ रन बनाएका छन् । ज्ञानेन्द्र ९ र अनिल १३ रनका साथ खेलिरहेका छन् ।


