‘पुलिस किनेर फुलीस बनाऊनेहरुलाई हामी नङ्ग्याउँछौं’- महानिरीक्षक सवेन्द्र खनाललाई रविको सिधाकुरा – भिडियो सहित
निजी विद्यालयको लुट कसले रोक्ने ?, ८ दिनसम्म अस्पतालको ढोका कुरेका व्यक्तिको उपचार नपाई मृत्यु, मरेपछि उपचारको नाटक गर्ने अस्पताल !
विगत लामो समयदेखि आम जनमानसमा चर्चित सवेन्द्र खनाल प्रहरी महानिरीक्षक हुनुभएको छ । इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका खनालको कामको चर्चा डिएसपी, एसपी र एसएसपी हुँदै चुलिदैँ चुलिदैँ गयो ।
उलेख्य काम गरेर पाएको चर्चामा सामाजिक सञ्जालले थपिदिएको चर्चा मिक्स हुँदा सर्वेन्द्र खनाललाई धेरैले हिरो मानेका छन् । हिरोको इन्ट्री प्राय लास्टमा हुन्छ तर नेपाल प्रहरीमा यी हिरोको इन्ट्री शुरु शुरु तिरै भएको छ ।
देशको प्रहरी प्रमुख बन्नमा हिजो गरिएका इन्काउण्टर र अप्रेशनहरुले पक्कै पनि सघाए होलान तर सर्वेन्द्र खनालको वास्तविक परीक्षा बल्ल शुरु भएको छ । देशका नाका देखि देशका डाकासम्मलाई राम्ररी चिनेका नवनियुक्त प्रहरी प्रमुख खनालले आइजी बन्नकै लागि यी सब काम गरेका होइनन, मिडिया र सामाजिक सञ्जालले जबरजस्ती हिरो बनाएका होइनन भन्ने कुरा प्रमाणित गर्ने दिन गन्ती शुरु भैसकेको छ ।
हामी त सर्वसाधारण मान्छे, सिधाकुरा बुझ्छौँ । डिएसपी, एसपी, एसएसपी हुँदा त त्यत्रो काम गर्न सक्नेले आइजी हुँदा के मात्र गर्न नसक्ला ? तपाईलाई आईजी बनाउन कुनै न कुनै भुमिका खेलेका आम सर्वसाधारणले यति आशा गर्न पाउनु पर्छ ।
यो पनि बताईहालौ आइजी साब हामी त्यो भिडमा पर्दैनौ जो तपाईलाई मुखले तारिफ गरेपनि भित्र भित्रै असफल भएको र के नै गर्न सक्ला र भनेर काखी पड्काउन तयार भएर बसेको छ ।
हामी त वाच डग हौँ । सीमा क्षेत्रमा छिमेकीले सिमाना मिच्दा तर्साउनै भएपनि कन्चटमा बन्दुक तेस्र्याउन सक्ने देशभक्त प्रहरी जवान तैनाथ गर्नुहोला न की लुरुक्क परेर पछि हट्ने जागिरे अफिसर वा जवान ।
सिमानाबाट छोरीचेली बेच्ने दलालले पोको पारेर दिएको ५ सय, हजारको नोट दाँया बाँया हेर्दै खल्तीमा हाल्ने अफिसर र जवानहरु होइन त्यस्ता दलालको नली खुट्टा एक सटमा भाँच्न सक्ने अफिसर वा जवानलाई खटाउनु होला ।
ठगी, बलत्कार, हत्या, गुण्डागर्दी को केश पुलिस थानामा मिलाउन दबाब स्वरुप आउने व्यापारी वा नेताका टेलीफोन कलको रेर्कड गोप्य रुपमा हामीलाई उपलब्ध गराइदिने साहस गर्नुहोला ।
पुलिस किनेर दुनियालाई फुलीस बनाउनेहरुलाई टिभीमा देखाउन हामीलाई १ सेकेण्ड पनि सोच्नु पर्दैन । किर्ते कागज गरेर ठगीएकाहरु कति जना भेटाईदिउ ?प्रहरीले उजुरी नै नलिएको केश कतिवटा देखाईदिउ ?
सैनाती व्याजमा घरखेत खाने अनि उल्टो तिनैलाई मुद्धा हालेर जीवनभर अदालतको चक्कर काट्न बाध्य पारिएकाहरु कतिजना भेटाईदिउ ?
सहरकारीले डुबाएका तर प्रहरी र नेताको संरक्षण पाएका, वरीपरी गुण्डै गुण्डै पालेका हरु कति जना देखाईदिउ ? विदेश लैजान्छु भनेर लाखौ करोडौ ठगेकाहरु र ति ठगले गर्दा आत्महत्या गरेका, परिवार विखण्डन भएका, महलबाट सडकमा पुगेका कति कति कति जना भेटाईदिउ ?
सीमानामा हरेक हप्ता खाममा दाम लिएर नदेखे जस्तो गरिदीने प्रहरीहरु कति जना भेटाईदिउ ? आइजी साब, मेरो लिष्ट निकै लामो छ, तर तपाईको कार्यकाल छोटो छैन । तपाईको कुममा यो देशको प्रहरीले लाउने र पाउने सबैभन्दा ठुलो फुली छ ।
हिजो बिच सडकमा गुण्डालाई घिच्चाएर, घिसारेर जेल कोच्ने तपाई नै हो । तपाइले घिच्याउने लेबलकाहरु अब बडेमानको ठेकेदार र देशका नेता सम्म भईसके । अब हेर्नु छ, हिजो तपाइले कठालो समातेर घिच्याएका गुण्डाहरुलाई तपाईका तिनै हातले फेरी घिच्याएर हत्कडी लगाइदिन्छन् कि सलाम ठोक्छन् ।
तपाईलाई आइजी बनाइदिने नेपाली जनता आँखा नझिम्काईकन २१ महिनासम्म तपाईलाई हेरीरहने छन्, तपाई आइजी भएको आज दोस्रो दिन हो । नव नियुक्त प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल ज्यु तपाईलाई हाम्रो शुभकामना छ ।


