विदेशिने क्रम न्यूनिकरण गर्न धनकुटाको चौविसेमा युवा स्वरोजगार तालिम
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका ८ स्थितको वसन्तटार युवा वचत तथा ऋण सहकारी संस्थाले त्यहाँका ३० जना युवाहरुलाई स्वरोजगार मूलक ४ दिने तालिम प्रदान गरेको छ ।
वैदेशिक रोजगारीका लागि युवाहरु विदेशिने क्रम वढेको वेला यो क्रमलाई न्यूनिकरण गर्ने र स्थानिय स्तरमा उत्पादित वस्तु उपयोग गरी आम्दानीको श्रोत वृद्धी गर्ने लक्षका साथ संस्थाले सहकारीमा संम्वद्ध सदस्यहरु मध्ये १५ जनालाई आलु चिप्स वनाउने र १५ जनालाई नास्पातिको जाम वनाउने तालिम दिईएको वसन्तटार युवा वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हृदय लिम्वुले वताउनुभयो ।
तालिमको सहजीकरण क्षेत्रीय खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगरका अधिकृत प्रकृती वस्ति र प्राविधिक सहायक वादल चेक्जोङले गर्नुभएको थियो । तालिममा सहभागी सवैलाई आज तालिम समापनको अवसरमा आयोजित कार्यक्रमको वीच प्रमाण पत्र वितरण गरिएको छ ।
२०६८ सालमा स्थिापीत यो सहकारी संस्थाले यस अघि वसन्तटारमा सार्वजनिक शौचालय निर्माण, टेवल टेनिस खेल्ने युवाहरुका लागि टेवल निर्माण लगायतका कामहरु गरिसकेको उपाध्यक्ष लिम्वुले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रमको सञ्चालन सहकारीको ऋण स्वीकृत समितिका सदस्य टेकवीर लिम्वुले गर्नुभएको थियो ।


