शैक्षिक हडतालको घोषणाले धनकुटाका सामुदायिक विद्यालय प्रभावित

धनकुटा । नेपाल राहत शिक्षक समितिको आयोजनामा मंगलबारदेखि ३ दिन देशभरका सामुदायिक विद्यालय बन्दको घोषणाले धनकुटाका सामुदायिक विद्यालय प्रभावित भएका छन।

नेपाल राहत शिक्षक केन्द्रिय समितिको २०७५ साल भाद्र २१ गतेको अपिल अनुसार संघीय शिक्षा ऐन २०७५ मा राहत शिक्षकका मागहरुलाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै मंगलबारदेखि बिहीबारसम्म देशैभरका सामुदायिक विद्यालयमा शैक्षिक आम हडतालको घोषणा गरेको हो।

नेपाल राहत शिक्षक केन्द्रिय समितिले तय गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत भदौ २६, २७ र २८ गते देशभरी सामुदायिक विद्यालयमा शैक्षिक आम हड्तालको आयोजना गर्नु परेको नेपाल राहत शिक्षक धनकुटाका अध्यक्ष चन्द्र एवाईले बताए।

विगतमा राहत शिक्षकको आन्दोलनबाट प्राप्त उपलब्धिलाई समेत नामेट गर्ने गरी आगामी असोज ३ गते जारी हुन लागेको संघीय शिक्षा ऐनको मस्यौदामा राहत शिक्षकहरुको व्यवस्थापनका बारेमा कुनै कुरा नसमेटिएको आरोप राहत शिक्षकहरुको छ।

राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई एकमुष्ट स्थायी गर्नका लागि संघीय ऐनमा नीतिगत व्यवस्थापन गर्नुपर्ने, स्थायी प्रक्रियाको थालनी गर्नुपूर्व राहत शिक्षक सम्बन्धि हालको शिक्षा ऐन तथा नियमावलीहरुले गरेको व्यवस्थाहरुको स्वामीत्व जारी हुनेगरी संघीय ऐनले ग्रहण गर्नुपर्ने माग राहत शिक्षक केन्द्रिय समितिको रहेको छ ।

त्यसैगरी स्थायी प्रक्रिया शुरु गर्नुपुर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकहरुको उमेरको हदबन्दी हटाउनुपर्ने, राज्यबाट शिक्षक शिक्षक बिच गरिदै आएको सबै खाले विभेदको अन्त्य गर्ने नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्ने लगायतका माग राहत शिक्षकहरुको रहेको नेपाल राहत शिक्षक समिति धनकुटा अध्यक्ष एवाईले बताए।

बन्दका कारण मंगलबार विद्यालय बन्द गरिएको र बुधबार, बिहीबार भने माथिबाट प्राप्त समाचारका आधारमा विद्यालय निर्णय गर्ने गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले बताए।

देशभर करिब ४० हजार राहत शिक्षक रहेको बताइएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।