शहीद स्मारक ‘ए’ डिभिजन फुटबल : थ्री स्टार र नेपाल पुलिस क्लब विजयी
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै विजयी शुरुआत भएको हो । जीतसँगै थ्री स्टारले शीर्ष तीन अङ्क जोडेको छ ।
थ्री स्टारले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल ग¥यो । उसको जीतमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले एक–एक गोल गरे । विष्टले खेलको पहिलो हाफको १७औँ मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै खेलको ८३औँ मिनेटमा थ्री स्टारका अर्का खेलाडी चेम्जोङले थप एक गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । यता फ्रेण्ड्स क्लबका विकास लामाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल फर्काएका थिए ।

त्यस्तै शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको छ ।
एन्फा मैदान सातदोबाटोमा आज भएको खेलमा पुलिसका लागि ३२औँ मिनेटमा अजित भण्डारीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
त्यसअघि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पुलिसको दुई सुन्दर प्रयासलाई विफल बनाएका थिए । सुमन लामाले छ यार्डभित्रबाट गरेको प्रहार उनले रोकेका थिए । त्यसअघि हेम तामाङको लामो दूरीको प्रहार पनि उनले उत्कृष्ट डाइभ दिँदै रोके ।
खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै पुलिसले तीन अङ्क जोडेको छ । शुक्रबार बिहान ११ बजे एन्फा मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपिएफ तथा ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी प्रतिष्पर्धा गर्नेछन् । पहिलो राउन्डको खेल सकिएलगत्तै २७ गतेदेखि लिग एक महिनाका लागि लिग स्थगित हुने एन्फाले जनाएको छ ।
‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।


