छिन्ताङको पन्चकन्यामा ४० औं सहिद स्मृति सभा मनाईयो
धनकुटा खबर । सहिद स्मृति प्रतिष्ठान सहिदभूमी गाउँपालिकाले छिन्ताङ्ग हत्याकाण्डको ४० औ स्मृति दिवस मनाएको छ ।
निरंकुश पन्चायती शासक बिरुद्ध संघर्षको क्रममा २०३६ सालमा सहादत प्राप्त १६ जना सहिदहरुको सम्झनामा प्रतिष्ठानले छिन्ताङको पञ्चकन्यामा सहिद स्मृति सभा सम्पन्न गरिएको हो ।
स्मृति सभालाई नेपाल कम्यूनिष्ट पाटीका १ नं प्रदेशका सचिव तथा केन्द्रिय सदस्य सुरेश राई, अर्थमन्त्री इन्द्रबहादुर आङ्वोहाङ(मौसम) प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रममा धनकुटाका सभासद्हरु ईन्द्रमणी पराजुली, निरन राई, कुसुम कुमारी श्रेष्ठ लगाएत सहभागी नेता तथा कार्यकर्ताले सहिदहरुको सालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्न नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भनिएता पनि अन्तिम समयमा खराव मौसमको कारण हेलिकप्टर नचलेको भन्दै उपस्थित नभएको आयोजकले जानकारी दिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष रुपलाल राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धनकुटाका नेता,पत्रकार,कर्मचारी,बिभिन्न संस्थाका प्रतिनिधी र आम नागरिकको बाक्लो उपस्थिति रहेको थियो ।
तात्कालिन शासकहरुद्वारा ०३६ सालमा गोपाल आनन्दी राई, श्रीमाया राई (हांखिमा साइली), भैरवबहादुर खालिङ राइ, पुत्रमान राई, गणेश बहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेशलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाइ, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राइ र झगेन्द राइको हत्या भएको थियो ।


