म्यानपावरले जबरजस्ती राखेको पासपोर्ट सिडियोको एक कल फोन पछि फिर्ता !

रामेछाप । रामेछापका निरबहादुर रामले म्यानपावरले जबरजस्ती राखेको पासपोर्ट ७ महिनापछि फिर्ता पाउनुभएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले गरेको एक कल फोनपछि काठमाडौंको स्काइ अफ द वल्र्ड प्रा.लि.ले निरबहादुरलाई पासपोर्ट फिर्ता दिएको हो ।

निरबहादुरले मलेसिया जान पासपोर्ट दिएपछि म्यानपावरले उहाँसँग ८० हजार रुपैयाँ लाग्ने बताएको थियो । निरबहादुरले सरकारले मलेसियासहित खाडीका देशमा सरकारले फ्रि भिसा फ्रि टिकट लागू गरेको भन्दै त्यति धेरै पैसा नदिने बताउनुभयो ।

त्यही क्रममा सरकारले मलेसियामा कामदार पठाउन रोक लगाएको थाहा पाएपछि आफू नजाने भन्दै पासपोर्ट फिर्ता माग्नुभएको थियो । तर म्यानपावरले सरकारले छिट्टै मलेसिया जान दिने भन्दै फिर्ता गर्न मानेको थिएन ।

केही महिनापछि म्यानपावरले भिसा आइसकेको भन्दै नजाने भए ३० हजार रुपैयाँ दिनुपर्ने शर्त राखेको थियो । म्यानपावरले पासपोर्ट दिन नमानेपछि उहाँले जिल्ला प्रशासन कार्यालयकै हाताभित्र रहेको सूचना केन्द्रमा निवेदन दिनुभएको थियो ।

केन्द्रको पहलमा म्यानपावरलाई फोन गरेर पासपोर्ट फिर्ता नदिए कारबाहीका लागि विभागमा पत्र पठाउने बताएपछि विनाशर्त म्यानपावरले पासपोर्ट फिर्ता दिएको हो ।

कतार जाँदा निरबहादुरले पाएको पीडा : मलेसिया जान खोज्नुअघि निरबहादुर कतार पुगेर फर्कनुभएको थियो । २७ महिना कतारको तातो घाममा पसिना बगाएर फर्केका निरबहादुरले परदेश नजाने निधो पनि गर्नु भएको थियो ।

उहाँ २०७१ सालमा ७० हजार रुपैयाँ बुझाएर कतार पुग्नुभयो । कतार टेक्दै गर्दा आफूलाई हाँसेर स्वागत गरेको जस्तो लागेको थियो निरबहादुरलाई । तर लेबरको काम गर्दा घामले भने गिज्याएजस्तो लाग्यो ।

परिवारको मायाबाट टाढा कतारमा निरबहादुरले त्यहाँ पुगेको एक महिनामै बुवाले सधैंलाई छोडेर गएको खबर सुन्नुपर्‍यो । ‘५५ डिग्रीको काममा काम गर्दा बरु त्यति पीडा भएको थिएन, बुवाको मृत्युको खबरले सम्हालिनै गाह्रो बनायो’ निरबहादुरले कतारमा छँदाको तीतो क्षण सुनाउनुभयो ।

उत्साहित भएर गएका निरबहादुरलाई कतारको काम र त्यहाँको वातावरणले गलाउँदै लग्यो । काम गर्ने क्रममा देब्रे हातका दुई वटा औंला मेसिनले काट्यो । दुई वर्षमा नेपाल फर्किँदा निरबहादुरसँग परदेशबाट ल्याएको कोसेली भन्दा दुःखको भारी ठूलो थियो ।

नेपाल फर्किएर काठमाडौंमा ट्याक्सी चलाएर गुजारा चलाउँदै गरेका निरबहादुरले मलेसियामा राम्रो कामको अवसर आएको कुरा साथीबाट थाहा पाउनुभयो । ‘दुई जना छोरीलाई राम्रो स्कूलमा पढाउन र घर खर्च टार्नलाई ड्राइभरी कामले नधानेपछि मलेसिया जाने सोच बनाएको थिएँ’ निरबहादुर भन्नुहुन्छ ।

स्काइ अफ द वल्र्ड म्यनपावरमा सेक्युरिटी गार्डको लागि गएको वैशाखमा पासपोर्ट पेश गर्नुभयो । म्यानपावरले ८० हजार रुपैँया मागेको थियो निरबहादुरसँग । जेठ महिनादेखि मलेसिया जान सरकारले रोक लगायो । मलेसिया जान रोक लागेपछि निरबहादुरले म्यानपावरसँग पासपोर्ट फिर्ता माग्नुभयो ।

तर नदिएपछि उहाँ सूचना केन्द्र पुग्नुभएको हो । केन्द्रकै पहलमा प्रमुख जिल्ला अधिकारीले पहल गरेपछि निरबहादुरले पासपोर्ट फिर्ता पाउनुभयो । “म जस्तै कति धेरै पीडित छन् सम्बन्धित ठाउँमा भएका व्यक्तिले यति पहल गरिदिने हो भने हुने रैछ नि” खुशी हुँदै निरबहादुरले भन्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।