आफन्तबाटै असुरक्षित बन्दै महिला !

घोराही । गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल राप्ती उपक्षेत्रीय अस्पतालमा बालिकाको उपचार भयो । घोराही सिमेण्ट उद्योगमा गाडी चालक रहेका दाजुलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो ।

जिल्ला अदालतले गत वैशाख २० गते पुर्पक्षमा पठायो तर अहिलेसम्म त्यसको मुद्दा फैसला हुन सकेको छैन । आफ्नी छोरीलाई गत २०७४ चैत ३० गते आफ्नै बाबुले बलात्कार गरेको भन्दै पीडित पक्षले गत वैशाख २३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दियोे ।

पटक पटक बलात्कार गरेपछि पीडित बालिकाले परिवारका सदस्यलाई कुरो लगाइन् र प्रहरीमा जाहेरी दर्ता गरिएको पीडित पक्षले जनायो । वैशाख २३ गते अभियुक्तलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो । दाङ देउखुरी जिल्ला अदालतले असार ११ गते दोषी ठहर गरी २० वर्ष कैद तथा पीडितलाई रु ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला ग¥यो ।

अर्की एक किशोरीलाई गत असार ७ गते गढवा गाउँपालिका– ६ का ३० वर्षीय आफ्नै मामाले बलात्कार गरेको भन्दै पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दियो । घरमा कोही नभएको मौका पारी ललाइफकाई आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताइन् । प्रहरीले अभियुक्तलाई असार ८ गते नै पक्राउ गरी अनुसन्धान थाल्यो ।

अदालतले असार २८ गते पुर्पक्षका लागि पठाएकामा अहिलेसम्म त्यस घटनाको मुद्दा किनारा लाग्न सकेको छैन । यति मात्र नभई किशोरी नातिनीलाई आफ्नै ६८ वर्षीय हजुरबाले बलात्कार गरेको घटना प्रहरीसम्म आइपुग्यो । त्यसैगरी आफ्नै चार, छ र ११ वर्षीया नातिनीहरुलाई पटक पटक बलात्कार गरेको आरोपमा ८२ वर्षीयविरुद्ध पनि प्रहरीमा उजुरी प¥यो ।

अनौपचारिक सेवा केन्द्र ९इन्सेक०ले केही समय अगाडि सार्वजनिक गरेको एक तथ्याङ्कमा दाङमा तीन वर्षदेखि ६९ वर्षसम्मका महिला बलात्कारमा परेको उल्लेख छ । अधिकांश महिला आफ्ना बाबु, हजुरबा, दाजु, काका, मामा र छरछिमेकीबाट बलात्कार, यौनजन्य हिंसा र बलात्कारको प्रयासमा परेको घटना छन् । समाजमा अहिले किन यस्ता घटना भइरहेका छन् जहाँ एउटा महिला घरभित्र आफ्ना आफन्तबाटै सुरक्षित छैनन् । छोरीहरु घरबाहिर हिँड्नु हँुदैन ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागर गत पुसदेखि कात्तिक अन्तिमसम्म जिल्लामा ५१ बलात्कारका घटना भएकामा आठ वटा बलात्कार आफ्नै बाबु, दाजु, हजुरबा, मामा, भिनाजु, छरछिमेकी र झट्केलो बुवाबाट भएको जानकारी िदिनुहुन्छ ।

महिलाहरु टाढाका मान्छेभन्दा पनि आफन्त, छरछिमेकी र नातागोताबाट असुरक्षित देखिएका छन् । उहाँ भन्नुहुन्छ, “समग्र जिल्लाको घटना हेर्दा ८० प्रतिशत बालिकाहरु यौनजन्य हिंसामा छन् । बालिका जोगाउनका लागि अव विशेष संवेदनशील हुनुपर्ने देखिन्छ ।”

उहाँका अनुसार यस वर्ष सबैभन्दा धेरै १४ वर्षका ११ बालिका बलात्कृत भएका छन् । तीन, चार, पाँच वर्षका बालिका पनि बलात्कारमा परेकामा ४२ घटनामा बालिकाहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

पछिल्लो समय बाहिर आएका यौन हिंसाका अधिकांश घटना आफन्तैबाट हुने गरेकोे पाइएको छ । यसले हाम्रो समाज कतातिर जाँदै छ भन्ने प्रश्नचिह्न खडा गरेको छ । समाज सम्पन्न भए पनि व्यवहार र मानसिकता भने पछिल्ला सार्वजनिक भएका घटनाले प्रष्ट पारेका छन् ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने अब बाटो, पुलपुलेसा बनाएर मात्र समाज समृद्धि हुन नसक्ने बताउनुहुन्छ । हाम्रो समाजका हरेक वर्गलाई अहिले सचेतनाको आवश्यकता रहेको उहाँको बुझाइ छ ।

उहाँले भन्नुभयो “समाजलाई सचेत बनाउने सबै सरोकारवाला निकायको हो, अव सबै ससक्त रुपमा लाग्नु पर्छ ।” अधिकांश महिला हिंसासँग सम्बन्धित सचेतनाका कार्यक्रममा महिला मात्रै सहभागी हुने गरेको तथ्य प्रष्ट्याउँदै उहाँ अब महिलामाथि हिंसा गर्ने पक्षलाई पनि बढीभन्दा बढी सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउनुहुन्छ ।

महिला मानव अधिकार रक्षकहरुको सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य पनि महिलाहरु आफ्नैबाट असुरक्षित हुँदाहुँदै पनि पीडितका कुरा सुन्न कोही पनि तयार नरहेको दुखेसो पोख्नुहुन्छ । घरपरिवारदेखि प्रहरी, प्रशासन, मेलमिलाप केन्द्र, सेवा केन्द्र, अदालतलगायत निकायमा महिलाको पीडा सुन्न चाहने कोही पनि नरहेको उहाँको आरोप छ ।

“पहिले पीडितको कुरा त सुनौँ भनेर हामीहरुले पटक पटक भनिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर सुन्नुभन्दा मिलाउन सबै तयार भैरहेका छन् । बलात्कारका घटनामा पनि मिलापत्र हुन थालेको छ ।” महिला हिंसाका घटनालाई सामान्य रुपमा लिने परिपाटी अहिले पनि उस्तै रहेको उहाँ बताउनुहुन्छ । महिला हिंसा एउटा सामाजिक अपराध हो भन्ने मान्न कोही पनि तयार नरहेको उहाँको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतम भने आफूहरुले महिला हिंसाको घटनालाई सामान्य रुपमा नलिएको बताउनुहुन्छ ।

महिला हिंसा पनि सामाजिक अपराध भएको हुँदा प्रहरीले त्यसलाई संवेदनशील रुपमा लिइरहेको उहाँको भनाइ छ । उहाँ प्रहरीसँगै मिलेर सबै सरोकार भएका निकायले अब लक्षित वर्गमा सचेतनाको कार्यक्रम गर्नुपर्ने बताउनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।