राष्ट्रपतिलाई १८ करोडको गाडीबारे सरकारको यस्तो स्पष्टीकरण…
काठमाडौँ । सरकारले राष्ट्रपति, उपराष्ट्रपतिजस्ता सम्मानित संस्थालाई गाडी तथा कार्यालय व्यवस्थापनको विषयमा अपमानित गर्न खोजिएको भन्दै त्यसको खण्डन गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अघिल्लो सरकारको निर्णयअनुसार नै राष्ट्रपतिका लागि गाडी किन्न लागिएको स्पष्ट पार्नुभएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको मागअनुसार नभई दायित्वअनुसार सरकारले गरेको निर्णयमा अनावश्यक आलोचना भइरहेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि भएको जानकारी पनि दिनुभयो । गणतन्त्रको जीवित संकेत नै राष्ट्रपति, उपराष्ट्रपति रहेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतान्त्रिक गणतन्त्र मन नपराउनेले नकारात्मक प्रचार गरी स्थापित हुने क्रममा रहेका संस्थामा समस्या पार्न खोजिएको टिप्पणी पनि गर्नुभयो ।
यस्तै, मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने, वैशाख ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय गरेको जानकारी पनि दिनुभयो ।


