पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा

वीरगंज । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलब दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउन सकिने बताउनुहुन्छ परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेल । उहाँले राससलाई भन्नुभयो, “बाधा अवरोध नभए तीन महीनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउने पक्का छ । यसलाई समयमै सम्पन्न गर्न परियोजनाले सक्रियरुपमा कार्यलाई अगाडि बढाएको छ ।”

नेपालतर्फ अब १८ दशमलब दुई किलोमिटर पाइप बिछ्याउने काम बाँकी रहेको छ । बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा आठ किलोमिटर, नाला स–साना पुल–पुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्रमा पाइप लाइन बिछ्याउन बाँकी रहेको छ । निकुञ्जभित्र रहेको करीब पाँच हजार रुख काटने काम निकट भविष्यमै हुने तथा भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको परियोजनाको कार्यालय सिमराले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको वीरगञ्ज भन्सारस्थित रजत जयन्ती चोक वाइपास क्षेत्रमा समेत पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । जीतपुर परवानीपुर क्षेत्रमा करीब दुई किलोमिटर क्षेत्रमा बाधा अवरोध आएकाले सो क्षेत्रमा बोरिङ प्रविधिमार्फत पाइप गाड्ने काम भइरहेको पनि परियोजनाका इञ्जिनीयर पौडेलले जानकारी दिनुभयो ।

नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइप लाइन निर्माणको लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ । गत गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुतm रुपमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गर्नुभएको थियो । शिलान्यासपछि यस कार्यले गति लिँदै जमीनमुनि पाइप बिछ्याउने कामले तीव्रता पाएको हो ।

पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइप लाइन जाने भएकाले निकुन्जभित्रका पाँच हजार रुख काट्न सहमति भइसकेकाले चाँडै नै सो कामको थालनी गरिने परियोजना कार्यालय सिमराले जनाइएको छ ।

पाइप लाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा तीन हजार ९०० किलोलिटर क्षमता भएको दुई तथा चार हजार १०० किलोलिटर क्षमता भएको दुई वटा गरी चार टयाङ्करको मर्मतसम्भार दु्रत गतिमा भइरहेको छ । एउटा टयाङ्कर तयार भइसकेको छ भने तीन वटा टयाङ्कर बनाउने काम भइरहेको बताइएको छ ।

तीन महीनाभित्र निर्माण कार्य सकी सञ्चालनमा ल्याउने लक्ष्य लिएको सो पाइप लाइन निर्माण सम्पन्न भएपछि पटनाबाट प्रतिघण्टा २५० लिटर पेट्रोलियम पदार्थ पाइप लाइनबाट भित्रिने छ । पहिलो चरणमा परीक्षणको रुपमा डिजेल आउने बताइएको छ ।

जमीनमुिन साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकाले खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालनमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारले लिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।