झापाले चुम्यो प्रदेश १ स्तरिय भलिवल प्रतियोगिताको उपाधि !
धनकुटा खबर । मदनभण्डारी स्पोर्ट एकेडेमिको आयोजनामा धनकुटामा जारी प्रदेशस्तरिय भलिवल प्रतियोगिताको उपाधि झापाले उचालेको छ ।
आज धनकुटाको तल्लो टुँडिखेलमा भएको फाईनल खेलमा झापाले ओखलढुंगालाई २३–२५, २५–१४, २५–२० र २५–२३ को सेटमा पराजीत गर्दै उपाधी चुमेको हो । जित सगै झापाले ट्रफी सहित १ लाख ५१ हजार रुपैया प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको ओखलढुंगाले ट्रफी सहित एक लाख एक हजार रुपैया प्राप्त गर्यो ।

यसअघि भएको खेलमा सुनसरीले भोजपुरलाई २५–२७, २९–२७, २२–२५, २५–१९, १५–१३ को सेटमा पराजीत गर्दै तेश्रो स्थान प्राप्त गर्यो भने भोजपुरले चौथो स्थानमै चित्त बुझायो । तेस्रो स्थान प्राप्त गरेको सुनसरीले टफी सहित ५१ हजार र चौथो भएको भोजपुरले २५ हजार रुपैया प्राप्त गर्यो ।

विजेता टिम र खेलाडीलाई मुख्य मन्त्रि शेरधन राई र विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले नगद टफी, प्रमाण पत्र र मेडल प्रदान गर्नुभयो । मुख्य मन्त्री शेरधन राईले कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारीको मार्ग दर्शनमा देश अगाडी बढी रहको बताएका छन् । उनले प्रदेश सरकारले खेलकुद लाई प्राथमिकतामा राखेको समेत बताए ।

मुलुकको एक मात्र आवश्यता आर्थिक विकास र समृद्धि भएकोले अब सबैले देश विकासमा लाग्नु पर्नेमा उनको जोड थियो । करिब १५ मिनेट सम्वोधन गरेका मुख्य मन्त्री राईले प्रदेशको राजधानी र नामाकरणका विषयमा भने केहि बोलेनन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमी १ नं प्रदेशको आयोजनामा सञ्चालित प्रतियोगितामा एक नं प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको थियो ।


