प्रधानमन्त्री, गृहमन्त्री र आइजिपी सहित २१ जनाविरुद्ध सर्वोच्चमा रिट !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । प्रधानमन्त्रीविरुद्ध ग्रामथान गाउँपालिका ३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । भगत नेपाली सेनाका भगौडा हुन्। उनले रिट निवेदनमा प्रधानमन्त्रीदेखि गृहमन्त्री, सेना र प्रहरीका प्रमुखसम्म २१ जनालाई विपक्षी बनाएका छन्। नागरिक न्यूजमा खबर छ ।

भगत २०६२ साल साउन ८ मा तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि उनले वाइसीएलको स्थानीय नेताका रुपमा काम गरेका थिए।

भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले पक्राउ गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो। प्रहरीले उनलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो। तर, पछि भगौडा भन्दै सेनाले नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जानकारी दियो।

भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो। हाल उनी मकवानपुरको भीमफेदी कारागारमा छन्। रिट निवेदकले आफूलाई विस्तृत शान्ति समझौता, तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरीत फैसला सुनाइएको दाबी गरेका छन्। रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालिन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ।

रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामबहादुर श्रेष्ठ र एकराज भण्डारीलगायतले बहस गर्ने छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।