भारतीय एकाधिकारले नेपाली किसान र व्यापारी मारमा, अलैंचीको उचित मूल्य पाउन सकेनन् (भिडियो सिहत)
धनकुटा खबर । पछिल्ला वर्ष अलैंचीको मूल्यमा आएको अस्वभाविक गिरावटले प्रदेश एकका पहाडी जिल्लाका अलैंची व्यवसायीको उठिबास नै लागेको छ । अलैंची बजारमा देखिएको भारतीय एकाधिकारका कारण नेपाली किसानले उचित मूल्य पाउन सकेका छैनन् ।
अलैची व्यापारका लागि श्रीमानले लिएको १८ लाख रुपैया कर्जा चुक्ता गर्न घरै बेच्नुपर्ने बाध्यताले पिरोलेको छ धनकुटा १ हिलेकी सविना राईलाई । हिलेका अर्का व्यापारी शेरबहादुर राईले पनि अलैंची व्यपारको घाटापूर्ति गर्न ४२ रोपनी जमिन र तीनवटा घडेरी नै बेच्नु पर्यो । अलैंची व्यापार गर्दा लागेको ऋण तिर्न हिलेकै न्यूरोडका व्यापारी मण्डल राई रोजगारीका लागि कुवेत पुगेका छन् । अलैंची बजारमा देखिएको भारतीय एकाधिकारका कारण व्यापारमा घाटा खाएर उठीबास हुने व्यापारीको सूची प्रदेश एकका पहाडी जिल्लामा निकै लामो छ । धनकुटा १ हिलेका अलैची व्यवसायी शेरबहादुर राई ।

विभिन्न बहाना बनाएर भारतीय व्यापारीले नेपाली अलैंची सस्तोमा लिन खोज्ने र त्यसो नभए निकासी नै ठप्प पार्ने गरेको ब्यापारी बताउछन् । नेपालमा उत्पादित अलैंची तेस्रो मुलुक निर्यातका लागि वैधानिक बाटो सहज गर्नतर्फ सरकारको ध्यान नगएको उनीहरुको गुनासो छ । धनकुटा १ हिलेका अलैची व्यापारी इन्द्र तितुङ्ग तामाङ्ग ।
नेपालबाट निर्यात हुने मसला बालीमध्ये सबैभन्दा बढी वैदेशिक मुद्रा आर्जन गर्ने अलैंची मा भारतीय एकाधिकार अन्त्यका लागि सरकारले कुनै पहल गर्न नसक्दा विगतमा प्रतिमन एक लाख ३० हजार रुपैयाँसम्म पुगेको अलैँचीको भाउ अहिले २५ देखि ३० हजार रुपैयाँमा स्थिर भएको व्यापारीको भनाइ छ ।


