जन्मदिनमा आमालाई भुलेनन् मोदीले, आमासँग आशिर्वाद लिएर सँगै खाए खाना
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औं जन्मदिनको अवसरमा आमा हीरा बेनसँग आशिर्वाद लिएका छन। मंगलबार दिउँसो अढाई बजे गुजरातको गान्धीनगर स्थित निवास पुगेर प्रधानमन्त्री मोदीले आमासँग आशिर्वाद लिए का हुन्। प्रधानमन्त्री मोदीले घर पुगेर आमाका साथ दिउँसोको खाना पनि खाएका छन् ।
उनले झण्डै आधा घण्टासम्म आमाका साथ बिताएका थिए । त्यसअघि उनले सरदार सरोवर ड्यामको भ्रमण र केवडियामा र्यालीलाई सम्बोधन गरेका थिए। यसअघि लोकसभा चुनावमा लगातार दोस्रो पटक बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले शपथ ग्रहण अघि आमासँग आशिर्वाद लिएका थिए । प्रधानमन्त्री मोदी सोमबार राति गृहराज्य गुजरात पुगेका थिए। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी मंगलबार बिहान आमा हीरा बेनसँगको भेट तय गरिएको थियो ।
त्यस पछि मात्रै मोदी सरदार सरोवर ड्यामको भ्रमण गर्ने र र्यालीलाई सम्बोधन गर्ने भनिएको थियो । तर पछि प्रधान मन्त्री मोदीको कार्यक्रम परिवर्तन भएको थियो । आमालाई भेट्न प्रधान मन्त्री मोदी गान्धीनगर पुग्दा उनको निवास बाहिर स्थानीयको भीड लागेको थियो । उनी पुग्दा भीडले खुशीयालीमा नारावाजी गरेका थिए । आमासँगको भेटपछि घरमा जमा भएका स्थानीयसँग सेल्फी खिचेर उनी नयाँदिल्ली फर्किएका छन् ।


