कास्कीमा प राजित साझाकी रजनी भन्छिन्– प्रे म धेरैले गरे, बिहे ग रेनन्
काठमाडाैं । कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले आफूलाई जनताले अगाध माया-प्रेम दिएको तर बिहेको मण्डपसम्म नलगेको प्रतिक्रिया दिएकी छिन् ।
मंगलवार लोकान्तरसँग कुरा गर्दै केसीले जनताले आफूलाई स्वतन्त्र बनेर माया गरेको तर पुरानै दलको अपहरणमा परेका कारण भोट दिन नसकेको गुनासो गरेकी हुन् ।
‘यो बीचमा मैले धेरै घरदैलो चाहारेँ, तराजुलाई घर–घरमा पुर्याएँ,’ केसीले भनिन्, ‘मलाई धेरैले माया गर्नुभयो । सत्तारूढ दल नेकपाले ल्याएको भोटभन्दा धेरैले तपाईंलाई विश्वास गर्छौं र भोट पनि हाल्छौं भन्नुभयो । जनताले देखाएको माया बिहे मण्डपसम्म पुग्ला भन्ने आशा गरेकी थिएँ, तर मायामा धोका भयो ।’
केसीले वैकल्पिक शक्ति बनाएर जनताबाट स्वीकृत गराउने काम निकै कठिन रहेको आफूले स्वीकारेको बताइन् ।
पुराना पार्टीहरूको विकल्प खोज्नुपर्छ भन्ने भावना विकसित भएको तर भोट हाल्ने बेलामा पुरानै पार्टीको चिह्नमा हात पुग्ने प्रवृत्तिलाई परिवर्तन गराउन आफूहरूले निकै ठूलो प्रयास गर्नुपर्ने शिक्षा प्राप्त गरेको केसी बताउँछिन् ।
‘हारले मलाई झन् उत्साहित बनाएको छ,’ केसीले भनिन्, ‘कुनै आवधिक निर्वाचन थिएन, उपनिर्वाचनमा जित्नेहरूले पनि राजनीतिक रूपमा खासै ठूलो भूमिका प्राप्त गर्दैनन् । तर हामी जन-जनको घरदैलोमा पुग्यौं । हाम्रो सांगठानिक स्थिति कस्तो रहेछ भन्ने बुझ्यौं । यो नै हाम्रो लागि जितबराबर हो ।’
कास्कीमा २१ जनाले मनोनयन दर्ता गराएका थिए भने हार्नेहरूमध्ये नेपाली कांग्रेसबाहेक सबैको जमानत जफत भएको छ ।
निर्वाचन ऐनमा कूल खसेको मतको १० प्रतिशत ल्याउन नसके जमानत जफत हुने उल्लेख छ ।
कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मात्र मतदान गरेका थिए । तीमध्ये साझा पार्टीकी उम्मेदवार केसीले जम्मा ९ सय ४२ मत ल्याइन् ।
विजयी नेकपा उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत पाए ।
तेस्रो स्थानमा रहेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको १ हजार ९ सय २२ तथा चौंथो स्थानका राप्रपा उम्मेदवार रोमबहादुर भण्डारीले १ हजार १५३ मत पाए ।


