बाटोमा गीता बे च्ने केटी :समिक्षा

काठमाडौ । परिवारले बनाइदिएको योजनाअनुसार मानिस, समय र चाहना चल्दो हो त मोरङकी समीक्षा कार्की अहिले कतै कुनै कोठामा बसेर नयाँ नयाँ भवनका डिजाइनमा सौन्दर्य थपिरहेकी हुने थिइन् । आर्टिटेक्ट इन्जिनियर भएर आफ्नो जीवन अगाडि बढाइरहेकी हुने थिइन् ।

तर, जे सोचिएको थियो, त्यो भएन । जे हुँदैन होला भन्ने थियो, त्यही भयो ।

तीन महिना ब्याचलर इन आर्टिटेक्ट इन्जिनियरिङ अध्ययन गर्न कलेज गइरहेकी समीक्षाले अचानक कलेज ड्रप गरिन्, जीवनमा नयाँ मोड दिने निर्णय गरिन् ।

त्यही निर्णय पनि एउटा कारक हो, अहिले समीक्षा बाटोमा गीता बेचिरहेकी छिन् । भगवान श्रीकृष्णबारे ‘चेतना’ फैलाइरहेकी छिन् ।

बाटोमा । हो, समीक्षासँग किताब बेच्नका लागि कुनै सटर लिइएको पसल छैन । उनी त आजभोलि बानेश्वर चोकमा दिउँसो भेटिन सक्छिन्, जहाँ उनको अगाडि एउटा टेबल हुन्छ । र, त्यो टेबलमा राखिएका हुन्छन्, गीता र अन्य धार्मिक पुस्तक ।

निधारमा चन्दनको ठाडो टिका लगाएर किताब बेच्न बस्ने समीक्षाको अनुहारमा मीठो मुस्कान टुट्दैन । उनलाई त लाग्छ, ‘म त किताब भन्दा पनि ज्ञानको सागर बेचिरहेकी छु ।’

तर, यही ज्ञानको सागर बेच्न सुरु गर्दा समीक्षाको परिवार खुसी थिएन ।

सोसल वर्कमा ब्याचलर्स पढिसकेकी छोरी, दुई चार वटा किताब लिएर बाटोमा बेच्न बस्ली भन्ने परिवारले कल्पना पनि गरेको थिएन । ‘तर, मैले आफ्नो चाहनालाई फलो गरेँ,’ समीक्षाले भनिन्, ‘मलाई अध्यात्मामा चासो थियो, त्यसलाई नै मैले फलो गरेँ ।’

खासमा समीक्षामा यो चासो जन्मिएको अलिक पहिले बाट नै हो । उनी प्लस टुको अध्ययन गर्न भारत पुगेकी थिइन् । त्यहाँको बसाइले उनलाई झन् बडी अध्यात्मिक पुस्तकहरुको संगतमा पुग्न सहयोग गर्यो । ‘मैले बौद्ध दर्शन, जिजस, साइबाबा, ओशोलगायतका पुस्तकहरु पढिरहेकी थिएँ,’ उनी भन्छिन्, ‘ओशो प्रवचनका भिडियो, आनी छोइङ डोल्माको पुस्तक मैले बारम्बार हेरेँ, बारम्बार पढेँ ।’

यही संगत बढिरहेको समयमा समीक्षाले नेपालमा एउटा पुस्तक भेटिन्– ल अफ नेचर । प्रभुपादको यो पुस्तकले उनलाई झन् सम्मोहित बनायो । अब उनले प्रभुपादका भिडियो हेर्न थालिन् । त्यही क्रममा एउटा भिडियो भेटिन्, अनलाइनमा । त्यसमा प्रभुपादले भागवत गीतबारे प्रवचन दिएका थिए ।

निकै अगाडि घरमा किनेर ल्याएको गीता समीक्षाले त्यसअघिसम्म पढेकी थिइनन् । प्रभुपादको प्रवचन सुनेपछि उनले गीता निकालिन् र पढ्न थालिन् ।

‘गीता पूरै पढेपछि म योप्रति अझ बढी आकर्षित भएँ,’ समीक्षाले सुनाइन्, ‘फलस्वरुपः स्कनमा जोडिएँ, स्कन अर्थात् इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्साइसनेस ।

‘त्यहाँ जोडिएपछि आफूले गीताबाट पाएको ध्यान अरु मानिससम्म पनि पुग्नुपर्छ भन्ने भयो,’ समीक्षाले भनिन्, ‘त्यसपछि म गीता बेच्न बाटोमा बस्न थालेँ । खासमा मैले गीता बेचेकी होइन, मैले त नलेज बेचेकी हुँ । यो मैले पाएको शिक्षा अरुले पनि पाउनु पर्छ भन्ने मेरो धारणा हो ।’

अनि उनी आफूजस्तै अरु साथीहरुसँग मिलेर बाटोमा निस्किइन्, सन् २०१८ को सेप्टेम्बरमा केही थान गीताका पुस्तकहरु लिएर ।

‘पहिलो दिन म रत्नपार्कमा पुगेको थिएँ,’ उनले गीत बेच्न निस्किएको पहिलो दिन सम्झिइन्, ‘अलिक अप्ठ्यारो लागेको थियो । साथीहरुसँग केही सिकेँ । अहिले त मलाई त्यस्तो अप्ठ्यारो नै लाग्दैन ।’

गीताबारे समीक्षाको धारण फरक छ । गीता त प्रत्येक दिन र जति पटक पढे पनि अपुग हुने उनले निष्कर्ष निकालेकी छिन् । ‘त्यति पहिले लेखिएको यो किताब अहिले पनि उत्तिकै सान्दर्भिक छ,’ उनले भनिन्, ‘जसले पढे पनि हुने, जतिपटक पढे पनि हुने ।’

त्यही गीता लिएर अहिले दैनिक बानेश्वरमा बस्छिन्, समीक्षा । उनलाई अर्को एकजना साथीले पनि सहयोग गर्छिन् ।

बानेश्वरमा हुने गीतको बिक्रीका कारण उत्साहित छिन्, समीक्षा । तर, यही नै उनको जीवन धान्ने मेसो चाहिँ होइन । उनी गीता बेच्नुका साथसाथै पार्टटाइम जब पनि गर्छिन्, जीवन अगाडि बढाउन ।

‘खासमा पहिले दिनमा बानेश्वरमा २० वटा गीता बिके,’ केही अघिको एक दिनलाई समीक्षा सम्झिन्छिन्, ‘त्यो दिन पाँच घन्टामा भएको बिक्रीले हामीलाई उत्साहित बनायो, अनि हामी यहाँ नै बस्न थाल्यौँ ।’

अहिले पनि दैनिक केही प्रति गीता समीक्षाको ‘पसल’बाट बिक्री भइरहेको हुन्छ । संख्या कति बिक्री भयो भन्ने भन्दा पनि समीक्षा मानिसलाई गाइड गर्न सक्ने पुस्तक अध्ययन भइरहेको कुरामा खुसी छिन् ।

‘अहिले सबै मानिस सफलता चाहिरेका छन्,’ उनी भन्छिन्, ‘हाम्रो दिमागमा अहिले नकारात्मक कुराहरुको वर्चश्व छ, गीता पढ्ने हो भने त्यो सब हराउँछ । त्यसैले पनि अहिले गीता पढ्न आवश्यक छ ।’

यही विश्वासका साथ अगाडि बढिरहेकी छिन्, गीता बेच्ने केटी अर्थात् समीक्षा कार्की ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।