धनकुटास्थित मार्गेश्वरी प्राविको वार्षिकोत्सवमा अक्षकोष स्थापनार्थ १ लाखको चेक हस्तान्तरण
शर्मिला राई, धनकुटा खबर, माघ १६ । मार्गेश्वरी प्राथामिक विद्यालय धनकुटा २ भीर गाउँको २४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस आज भव्यताका साथ सम्पन्न भएको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम वहादुर विष्टको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवको अवसरमा स्थानिय खगेन्द्र प्रसाद निरौलाले विद्यालयमा अक्षकोष स्थापनार्थ रु १ लाख को चेक हस्तान्तरण गर्नुभएको छ ।
खगेन्द्रले आफ्नो स्व:बुबा स्थानिय समाजसेवि चिन्तामणी निरौलाको स्मृतीमा अक्षकोष स्थापनाका लागि विद्यालयलाई १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तैगरी अर्का स्थानिय समाजसेवि तेज वहादुर लुङ्गेली मगरले सो विद्यालयमा अध्ययनरत कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा वोल्दै नगर प्रमुख तामाङ्ले आगामी आथिर्क वर्षवाट नगरपालिकाले नगरभरिका विद्यालयहरुमा प्रति विद्यालय रु २ लाख को अक्षकोष स्थापना गरि यसवाट प्राप्त व्याजवाट विद्यार्थीहरुको भलाईका लागि खर्च गर्न मिल्ने गरि योजना तथा रणनीति वनाईएको जानकारी गराउनुभयो ।
साथै उहाँले जनभावना अनुसार अन्य कामहरु पनि गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयलाई अनवरत योगदान गर्दै आउनुभउका स्थानिय समाजसेवि दल वहादुर दाहाल र मदन वहादुर थापालाई विद्यालयको तर्फवाट मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको छ ।
धनकुटा नगरपालिका २ का वडाध्यक्ष चन्द्रलाल तामाङ, छिमेकी विद्यालयका प्रधानाध्यापक, प्रतिनीधि, वडा सदस्यहरु सहित विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले उपस्थिती जनाएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेज वहादुर दाहालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अक्षकोष विधान सम्वन्धि जानकारी गराउनुभएको थियो । भने कार्यक्रमकै अवसरमा विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।


