नेत्र ज्योती संघ धनकुटाले पूर्व-राज्यमन्त्रीसहित तीन जनालाई सम्मान गर्ने
धनकुटा खबर, माघ २१ । नेपाल नेत्र ज्योती संघ धनकुटाले तीन जनालाई सम्मान गर्ने भएकाे छ । नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटालाई साधन स्रोत सम्पन्न बनाउन महत्वपूर्ण सहयोग गर्नु भएकोमा पूर्व-राज्यमन्त्री धनमाया विक सहित तीनजनालाई सम्मान गर्ने आज निर्णय गरेको हाे ।
नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतमा सम्पन्न बैठकले अाँखा अस्पतालाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गर्नु भएकोमा पूर्व राज्य मन्त्री तथा संविधान सभा सदस्य धनमाया विक, भवन निर्माण गर्न मन्त्रालयबाट रकम बिनियोजन गर्न महत्वपूर्ण सहयोग गर्नु भएकोमा तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालयका सचिव धरणीधर खतिवडा र नेपाल नेत्र ज्योती संघ धनकुटा र डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटालाई संस्थागत र भौतिक विकासका लागि महत्वपूर्ण योगदान दिनु भएकोमा नेपाल नेत्र ज्योती संघ धनकुटाका पूर्व सभापति द्रोर्ण गुरागाईलाई सम्मान गर्ने निर्णय गरेको प्रचार प्रसार समिति तथा शिविर समन्य तथा व्यवस्थापन समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
नेपाल नेत्र ज्योती संघ धनकुटाको ११ औं साधारण सभाकाे अवसरमा माघ २७ गते उहाँहरु तिनै जनालाई सम्मान गर्ने भएको हो । साथै साधारण सभालाई भव्यताका साथ सफल बनाउन प्रकाश श्रेष्ठ संयोजक र रेणु श्रेष्ठ सदस्य रहनु भएको स्वागत समिति र सुनिल डंगोल संयोजक र जयन्द्र प्रधान सदस्य रहनु भएको आवास तथा भोजन समिति समेत अाजै गठन गरिएको नेपाल नेत्र ज्योती संघ धनकुटाले जनाएको छ ।


