सकियो पाख्रीवासको कृषि मेला, २८ किसान पुरस्कृत
शर्मिला राई, धनकुटा खबर । धनकुटाको पाख्रीवासमा सञ्चालित नगर स्तरिय तीन दिने कृषी मेला प्रदर्शनिमा २८ जना किसान पुरस्कृत भएकाछन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि नयाँ कृषी प्रविधिको वारेमा किसानहरुलाई जानकारी दिने उद्देश्यका साथ नगरपालिकाद्धारा आयोजित मेलामा मसला, फलफुल, दलहन, तरकारी, खाद्यान्न र आलु वाली समूहका उत्कृष्ठ ४,४ जना गरी जम्मा २८ जना उत्कृष्ठ किसानलाई नगद ४ हजार ३ हजार, २ हजार र १ हजार प्रदान गरी पुरस्कृत गरिएको छ ।

मेलामा आलु, अलैची, साग, एवोकाडो, उखु, लसुन, मकै, केरा लगायत २ सय १९ प्रकारका वाली प्रदर्शनिमा राखिएको थियो । यो मेलाले आफुहरुलाई व्यवसायिक रुपमा कृषि पेशामा लाग्न अझ प्रेरित गरेको मेलामा सहभागिता जनाउने किसानहरुको भनाई छ ।
नगर प्रमुख वृष वहादुर राईको प्रमुख आतिथ्य तथा उप प्रमुख देवकला पौडेल तिम्सिनाको अध्यक्षतामा सञ्चालित मेला समापन कार्यक्रममा ५ नं वडाध्यक्ष गोपाल थापा, नेकपा का नगरर संयोजक शान्तिराम गौतम, हरि राई लगायतकाले मन्तव्य राखेका थिए । सञ्चालन कृषी प्राविधिक ईन्द्र माया तामाङले गर्नुभएको थियो ।


