धनकुटास्थित पाख्रीवासको महायज्ञ तथा महोत्सव सकियो, मन्दिर बनाऊन झण्डै २५ लाख सङ्कलन
धनकुटा खबर, माघ २९ । नगद, जिन्सि सहित २४ लाख ९१ हजार ४ सय ८८ रुपयाँ वढी रकम र एक रोपनी जग्गा सहयोग संकलन गर्दै पाख्रीवासको पर्यटकीय स्थल तथा पीकनिक स्र्पोट संसारी माईपूजा सिमसार क्षेत्रमा सञ्चालित श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव आज समापन भएको छ ।
महायज्ञ तथा महोत्सव समापनको अवसरमा दिईएको जानकारी अनुसार सिमसार क्षेत्रमा सामुदायिक भवन सहितको नमूना राधाकृष्ण मन्दिर निर्माण सहयोगार्थ आयोजित महायज्ञ तथा महोत्सवमा हजार भन्दा वढी धर्मात्मा मानिसहरुले गरेको सहयोगवाट उल्लेखित रकम जम्मा भएको हो ।
पाख्रीवास नगरपालिकाका ४ नं वडाध्यक्ष तथा महायज्ञ एवम् महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष शोवित निरौलाको अध्यक्षतामा भएको महायज्ञ समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा १ नं प्रदेश सरकारका न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीले मन्दिर निर्माणका लागि आफुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

यहाँ राधाकृष्ण मन्दिरको आवश्यक्ता महसुष गरि महायज्ञ आयोजना गर्दै आफुहरुलाई जानकारी गराएको प्रति स्थानियलाई धन्यवाद दिदै उहाँले प्रदेश सरकार सहित अन्य स्थानवाट आफुले गर्नुपर्ने पहल र सहयोग गर्ने वताउनुभयो । महायज्ञमा सु प्रसिद्ध गुरुदेव अध्यात्म शिरोममणी पंडित श्रीरामकृष्ण उपाध्यायको मुखारविन्दवाट कथा वाचन भएको थियो ।
कार्यक्रम कै अवसरमा नगद,जिन्सि सहयोगदाता एवम् महायज्ञ व्यवस्थापनका लागि सहयोग गर्नुहुने महानुभावहरुलाई कदर पत्र प्रदान गरि आयोजकद्धारा सम्मान गरिएको थियो भने प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
त्यस्तै महायज्ञको शूरुवात देखी अन्तिम सम्ममै समचार सम्प्रेषण गरि सहयोग पुर्याएको भन्दै सञ्चारकर्मी शर्मिला राईलाई पनि सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन महायज्ञ आयोजक मूल समारोह समितिका सदस्य प्रेम भण्डारीले गर्नुभएको थियो ।
महायज्ञ समापन कार्यक्रममा सभानायकहरु यज्ञ बहादुर कटुवाल, टेक वहादुर कटुवाल, देव वहादुर वि क, याम वहादुर जोगी, भिम कुमारी बस्नेत, सीता माया बानिया, अतिथि जग्गा दाता नेत्र निरौला, बलराम खड्का अन्य अतिथिहरु पाख्रीवास ५ का वडाध्यक्ष गोपाल थापा, समाजसेविहरु ज्ञान वहादुर गुरुङ्ग भक्त गुरुङ्ग, आमा समूह अध्यक्ष धनमाया गुरुङ्ग, कल्पना गुरुङ्ग, राजेन्द्र बस्नेत, ईन्द्र निरौला, समाजवादी पाटीका पाख्रीवास नगर कमिटी अध्यक्ष जितेन्द्र माङ्गपाहाङ्ग राई लगायतको उपस्थिती थियो ।


