नक्शा जारी गर्दा सरकार फेरिने हाम्रो कमजोर राष्ट्रियता होइन : प्रम

काठमाडौँ, असार १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापे वापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गर्नुभएको छ ।

जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका ओलीले प्रधानमन्त्री फेरिन्छ भनेर कसैले हतारो गर्न वा कुनै आग्रह राख्न आवश्यक नभएको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको राष्ट्रियता यति कमजोर छैन । नक्शा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन । अहिले म हट्ने हो भने राष्ट्रियताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन । म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो । जननेता भण्डारीको विचारबाट निर्देशित हाम्रो पार्टी र संसदीय दल यति कुरा नबुझ्ने खालको छैन । हामीले कुनै भूलचुकमा नक्शा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ । विगत २०४ वर्षदेखि हाम्रो रहेको र ५८ वर्ष मिचिएको हाम्रो भूमि फिर्ता लिन गाह्रो छैन । अन्तिममा सत्यको विजय हुनेछ ।”

प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर फर्केपछि आफ्नो बहुमत नभएकाले सरकार ढलेको तर अहिले बहुमत रहेको जनाउँदै एउटै मुलुकवेष्टित (भारतवेष्टित) रहेको पारवहनलाई दुवै छिमेकीवेष्टित बनाएर नाकाबन्दीका समयमा पनि नेपालले दृढतापूर्वक सामना गरेको स्मरण गर्नुभयो । “नेपाल दुई ढुङ्गाबीचको निरीह तरुल होइन । हाम्रो गौरवपूर्ण इतिहास भएको, गतिशील वर्तमान र महान् सम्भावना बोकेको स्वतन्त्र सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । इतिहासमा यो कुनै राष्ट्रको अधीनस्थ थिएन ।” उहाँले भन्नुभयो, “हामी दुवै छिमेकीबाट चलायमानरुपमा पारवहन सुविधा लिन सक्छौँ । हामीले चीनसँग त्यस प्रकारको सम्झौता गरेर नेपाललाई नयाँ उचाइमा लगेका छौँ ।”

उहाँले हाल कोरोना भाइरसको अस्थायी संकट परे पनि सुन्दर नेपालले आफ्ना मुर्छित सपना ब्युँझ्याएर जनतामा आत्मविश्वास जगाइसकेकाले आफ्नाबारेमा विरोध र आलोचना गर्दा भनाइ र गराइलाई तुलना गरेर वस्तुगतरुपमा गरिदिन पनि आग्रह गर्नुभयो । “हुन त विरोधीहरुले माक्र्स र भण्डारीको पनि विरोध गर्थे । मेरो पनि गरेका छन् तर म शासन गर्न राजनीतिमा लागेको होइन । जनता र देशको सेवा गर्न लागेको हुँ । म मेरा साथीहरुलाई मलाई नजीकैबाट हेरेर ममा कुनै दाग, धब्बा र छिटाहरु भए आलोचना गरिदिन आग्रह गर्छु ।”

जबज माक्र्सवादमा आधारित गतिशील र नेपालको एक्काइसौँ शताब्दीलाई अत्याधिक प्रभावित पार्न सक्ने विचार भएको जनाउँदै प्रधानमन्त्री ओलीले जननेता भण्डारीले २०४८ सालमै संसद्मा मिचिएको कालापानीलगायत भूमि नेपालको भएको सुपष्ट विचार व्यक्त गर्नुभएको स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले विचार,वक्तृत्वकला, शैली र अनेक प्रतिभाका कारण जननेता भण्डारी नेपाली राजनीतिमा एक्काइसौँ शताब्दीका नायक भएको उल्लेख गर्दै त्यही विचारका जगमा अहिले आफूहरुले सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा अघि सारेको बताउनुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।