कारागारमा फोहरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली

महोत्तरी, असार १५ गते । महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा)को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो । कारागारको कैदी कक्ष, प्रशासन कक्ष र सुरक्षा कक्षसहितका ठाउँ अहिले फोहर थुप्रिएर दुर्गन्धित बनेपछि खाने, बस्ने र सुत्ने ठाउँ नपाएर बिजोग खेप्नुपरेको कैदीबन्दीको गुनासो छ ।

जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर बाहिर निस्कने ढल नबन्दा प्रत्येक वर्ष बर्खामा कैदीबन्दी (थुनुवा)को बिजोग हुने गरेको छ । खासमा कैदी–थुनुवा कक्ष गहिरिँदै जाँदा नगरभरिको फोहर यसै परिसरमा थुप्रिएर खाने, बस्ने र सुत्ने समस्या बढेको कारागारका चौकीदारसमेत रहेका पुराना कैदी रमेश सिंह बताउनुहुन्छ । कारागार परिसर दुर्गन्धित बन्दै जाँदा कैदीबन्दी बिरामी हुने क्रम बाक्लिएको छ ।

“साँघुरो कारागारमा दुवैतर्फ (पुरुष र महिलाका छुट्टाछुट्टै कक्ष) गरी ५५१ कैदी–थुनुवा छौँ”, चौकीदार सिंहले भन्नुभयो, “जताततै फोहर थुप्रिएर यसको निकास नहुँदा बस्न, खान, सुत्न राम्ररी पाएका छैनौँ ।” अहिले सघन वर्षा शुरु भएपछि जताततै फोहर हिलाम्य पानीमा तैरिरहेको अवस्थाले महामारी पर्नसक्ने डर बढेको कैदी–थुनुवा बताउँछन् ।

कारागार परिसरबाहिर अग्लाअग्ला संरचना (घर, सडक) बनिँदा बर्सेनि यो ठाउँ झनझन गहिरिँदै गएको छ । फोहर निकासका लागि स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) र जलेश्वर नगरपालिकाको बराबर ध्यानाकर्षण गराइए पनि निकासको काम हुन नसकेको निमित्त कारागार प्रमुख (जेलर) मक्सुधन महासेठ बताउनुहुन्छ ।

जम्मा १३५ कैदी–थुनुवा राख्ने क्षमताको कारागारमा अहिले चौब्बरभन्दा बढी ५५१ जना छन् । साँघुरो ठाउँमा कैदी–थुनुवा थपिँदै जाँदा बसाइ व्यवस्थापन सधैँजसो अस्तव्यस्त हुने गरेको निमित्त कारागार प्रमुख महासेठको गुनासो छ । “हामी सम्बद्ध उपल्लो निकायमा ‘ठाउँ छैन, कारागार अस्तव्यस्त छ’ भन्ने गर्छौं”, महासेठले लाचारी व्यक्त गर्दै भन्नुभयो, “न्यायिक निकाय भने दिनहुँ कैदी र थुनुवा पठाउँछन्, हामी के गरौँ ?”
कारागारको पुरुष कक्षमा अहिले ५०१ र महिला कक्षमा पाँच आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका) सहित ५० जनासमेत जम्मा ५५१ कैदी–थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा निकै बढी कैदी–थुनुवा राख्नुपर्दा औषधोपचार र अन्य व्यवस्थापकीय काममा निकै समस्या पर्ने गरेको निमित्त कारागार प्रमुख महासेठको भनाइ छ ।

छिमेकको धनुषा जिल्लामा कारागार नहुँदा महोत्तरी कारागारमा कैदी–थुनुवाको चाप बढेको हो । कारागारमा ६५ प्रतिशत धनुषाकै न्यायिक निकायले पठाएका कैदी–थुनुवा रहेका कारागारको अभिलेखले देखाएको छ । यसबाहेक न्यायिक निकायले मुद्दा छिन्न गर्ने ढिलाइले थुनुवाको चाप बढेको निमित्त कारागार प्रमुख महासेठ बताउनुहुन्छ । कारागारमा अहिले पनि ७० प्रतिशत त थुनुवा नै रहेका छन् । मुद्दा छिनिएर कैद तोकिएका कैदीको सङ्ख्या ३० प्रतिशतमात्र रहेको महासेठको भनाइ छ ।

विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार भवनले त्यसयता राम्रो मर्मतसम्भार पाएको छैन । कैदी–थुनुवा कक्षका पर्खालका इँटा झर्ने र छत उप्किएर झर्ने गरेको कैदी–थुनुवा बताउँछन् । “हजुर, नापेको दुई हात जग्गामा बस्नु छ, जताततै हिलो पानी र फोहर थुप्रिएको छ”, कारागारको महिला कक्षकी एक थुनुवाले विरक्तिँदै भन्नुभयो, “प्रत्येक दिनजसो पर्खाल र छत उप्किएर इँटा र सिमेन्टका टुक्रा झर्छन्, किचिएर मरिन्छ कि भन्ने त्रासमा बस्नुपरेको छ ।”

यसैबीच जिल्लाका सामाजिक सङ्घसंस्था र मानवअधिकारवादी सङ्घ सङ्गठनका प्रतिनिधिले कारागारको मर्मतसम्भार, ढल निकासको उचित व्यवस्थापन, छिटोछरितो न्याय सम्पादन र कैदी–थुनुवाका मानवोचित आवश्यकताको परिपूर्तिमा ध्यान दिन स्थानीय प्रशासन र कारागार प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

“कारागार यातनागृह नभई सुधारगृह हुन्”, कारागारको नियमित निरीक्षण गर्दै आउनुभएका मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साहले भन्नुभयो, “सम्बद्ध सबै पक्षले समयोचित सुधारमा ध्यान दिनै पर्छ ।” भर्खरै कारागारको निरीक्षण अनुगमन गर्नुभएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कारागारको व्यवस्थापकीय सुधारका लागि विभिन्न निकायबीच समन्वय थालिएको बताउनुभएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।