निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण

भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहलमा निर्माण शुरु भएको रङ्गशालाको शनिबार अनुगमन एवं निरीक्षण गर्दै मन्त्री विश्वकर्माले अहिलेको चुनौतीपूर्ण समयमा पनि रङ्गशाला निर्माण शुरु भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

विकासका लागि बजेट अभाव नहुने चर्चा गर्दैै उहाँले दिगो विकास, प्रभावकारी तथा स्थायित्वसहितको डिजाइनमा रङ्गशाला सुन्दर, स्रोतसाधन परिचालनमा योजनाबद्ध एवं व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री विश्वकर्माले खेलकूद हुनेखाने मानिसका लागि मनोरञ्जनको साधन मात्र नभई प्रत्येक मानिसको स्वास्थ्यसँग जोडिएको बताउँदै रङ्गशाला निर्माणमा नगरपालिकाको सहयोगमा थप सहयोग गर्दै आवश्यक बजेटको व्यवस्थापन गरी निर्माणकार्यलाई पूर्णता दिने बताउनुभयो ।

सांसद एवं पूर्व मन्त्री बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने सपना पूरा हुने भएको बताउनुभयो । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न खोज्दा चौतर्फीरूपमा नेमकिपाले विरोध गरेको उल्लेख गर्दै उहाँले भँगेरीडाँडामा बन्न लागेको रङ्गशालाको समेत सांसद प्रेम सुवालले संसद्मै विरोध गरेको बताउनुभयो ।

नेपाल सरकारले उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने कार्यक्रम ल्याएको र सोहीअनुसार प्रक्रिया अघि बढेको जानकारी गराउँदै उहाँले उक्त स्थानमा खेलकूद तथा पर्यटनको महत्वपूर्ण उद्गमस्थलका रूपमा विकास गर्ने योजना बनिरहेकोसमेत जानकारी गराउनुभयो । रङ्गशाला निर्माण सम्पन्न भएसँगै चाँगुनारायणको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, रोजगारी, व्यापार व्यवसायलगायतका क्षेत्रमा भक्तपुरले ठूलो फड्का मार्ने विश्वास व्यक्त गरिएको छ ।

चाँगुनारायण नगरपालिकाले वडा नं ४ र ७ को भँगेरीडाँडामा जग्गा उपलब्ध गराएसँगै रङ्गशाला निर्माण शुरु भएको हो । सङ्घीय सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय रङ्गशाला निर्माण गर्ने उल्लेख गरेको थियो । सोहीअनुसार उक्त क्षेत्रमा रङ्गशालाको निर्माण शुरु गरिएको सांसद बस्नेतले बताउनुभयोे । नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको उक्त रङ्गशाला नगरापालिकाले रु ५० लाख बजेट व्यवस्थापन गरी निर्माण शुरु गरेको छ ।

रङ्गशाला निर्माणका लागि नगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारबाट समेत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता आएको छ । त्यस अवसरमा रङ्गशाला निर्माणको नेतृत्व लिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाले रङ्गशाला निर्माणसँगै स्थानीय विकास, पर्यटन एवं कृषिको विकास, रोजगारीको व्यवस्थासँगै आर्थिक अवस्था वृद्धि हुने बताउनुभयो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖