पृथ्वी राजमार्ग विस्तारसँगै घाँसीकुवा मासिने चिन्ता

काठमाडौं, असार २९ । आदिकवि भानुभक्त आचार्यले घाँसीबाट प्रेरणा पाएर साहित्यिक रचना गरिएको स्थान घाँसीकुवा संरक्षणको अभावमा परेको छ। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीले बनाएको कुवाको अस्तित्व नै मेटिने होकि भन्नेमा स्थानीयवासी चिन्तित भएका छन्।

सडक विस्तारसँगै अहिलेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा संरक्षणका लागि बेलैमा चासो राख्नुपर्ने देखिएको जनाइएको छ। पृथ्वी राजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत रहेको स्थानलाई मात्रै फराकिलो बनाउने योजना रहेको व्यास नगरपालिका– १२ का वडाध्यक्ष तोत्रबहादुर कुँवरले जानकारी दिए।

सोही स्थान नजिक रहेको बुल्दी खोलाको किनारको भागलाई उठाएर सम्म बनाएर भएपनि घाँसीकुवालाई संरक्षण गर्न लागिएको उनले बताए। भानुभक्त मामाघर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो। उक्त घाँसीकुवा पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ मा पर्दछ। सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब छ किलोमिटरको दूरीमा घाँसीकुवा रहेको छ।

घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रभावित भई भानुभक्तले यस्तो कविता रचना गरेका थिए।

भर्जन्म घाँसतिर मन दिइ धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो,
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन आज यस्तो।

घाँसीको प्रेरणाबाट आदिकविले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गरेका हुन्। घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले पहिचान गर्न कठिनाइ भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउँछन्।

समितिका सदस्य प्रेम पन्थले हाल घाँसीकुवा रहेकोभन्दा २०० मिटर पर उत्तरतिर करिब १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय बासिन्दाले भानु–घाँसी पार्क बनाउन दिने निर्णयसमेत गरिसकेकाले त्यस ठाउँमा पूर्वाधार निर्माण गर्न लागिएको जानकारी दिए। घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाउँ विकास समितिको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो। अहिले यस गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नं वडा कायम भएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।