माग उच्च भएपछि किवी खेतीमा जुट्दैछन् किसान

इलाम । राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका हुन् । जिल्लामै ‘किवी जोन’ निर्माण भएपछि त उत्साह मिलेको छ । देशभित्र नै किवीको माग धेरै रहेकाले यसका लागि प्रोत्साहन गर्नुपर्ने सन्दकपुर–३ का तारामणि खतिवडा बताउनुहुन्छ ।

“देशमा आवश्यक मागको १० प्रतिशत किवी हामीले धानेका छौँ । अरू बाहिरैबाट आउँछ”, लामो समयदेखि किवी खेतीमा लाग्नुभएका खतिवडा ४० रोपनी क्षेत्रमा खेती गरेको सुनाउनुहुन्छ । कृषकमा खेतीसम्बन्धी जानकारी लिन प्रशिक्षण कम भएको र यसको फाइदाका बारेमा जानकारी नभएकाले किसान जागरुक नभएको उहाँको भनाइ छ । “कृषकका लागि आएका कार्ययोजना कृषक सामु आइ नै पुग्दैनन् न त अनु्दान नै आउँछ । त्यसैले धेरै किसानले किवी बारे जानकारी पाएका छैनन् ।”

करिब ५०० विरुवा ग्रीन र १०० विरुवा रेड किवी रोप्नुभएका खतिवडाले गएका वर्षमा मात्रै तीन हजार किलो किवी बेचेको बताउनुहुन्छ । आउँदो वर्षलाई करिब २५ हजार बिरुवा उत्पादन गर्न नर्सरी गरेको खतिवडा बताउनुहुन्छ । “किवीमा राम्रै आम्दानी हुन्छ त्यसैले धेरै बिरुवा राखेको हुँ ।” खतिवडाले भन्नुभयो । बहुवर्षे विरुवा भएकाले सधै खटिरहनु नपर्नाले धेरैले किवी खेती गरेका छन् । यसका बारेमा किसानले धेरै बुझेकाले उत्साह फैलिएको देउकुमार राई बताउनुहुन्छ ।

“माग अत्यन्तै धेरै छ । मैले यसै वर्ष २० हजार बिरुवा नर्सरी गरेको छुँ ।” राईले भन्नुभयो, “सुधारिएको हेवार्ड जातको माग धेरै छ ।” एक पटक रोपेको बिरुवाबाट ५० वर्ष उत्पादन लिन सकिने भएकाले एकैचोटी धेरै बिरुवा रोप्नु उपयुक्त हुने राईको भनाइ छ । रोग नलागेमा किवीले ३० वर्षसम्म उच्च मात्रामा उत्पादन दिने र त्यसपछि घट्दै जाने राईको भनाइ छ ।

समुद्री सतहबाट एक हजार २०० देखि तीन हजार मिटरसम्मको उचाइमा खेती हुने किवी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, काठमाडौँ, भोजपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन भइरहेको छ ।

गाउँमै शीतभण्डार

किवी भण्डारण गर्न सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका किसान तारामणि खतिवडाले शीतभण्डार बनाउनुभएका छ । चाहेको समयमा बेच्न किसानको सहयोगमा शीतभण्डार बनाइएको हो । करिब रु तीन लाखमा बनेको शीतभण्डारमा १० हजार किलो किवी भण्डारण गर्न सकिन्छ । खतिवडाले भन्नुभयो, “कोल्डस्टोर बनाउँ भनेर कसैले नसुनेपछि पहिले विदेशमा सिकेको सीपले आफै बनाएको हुँ ।” गत वर्ष यो शीतभण्डारमा तीन हजार किलो भण्डारण क्षमताको थियो ।

स्थानीय स्रोत साधन नै प्रयोग गरेर बनाइएको भण्डारमा छ महिनासम्म किवी राख्न सकिन्छ । “तापक्रम मिलाएर राख्न सक्दा लामो समय रहन्छ ।” खतिवडाले भन्नुभयो, “यसमा म ९९ प्रतिशत सफल भए यो साल पनि सफल नै हुन्छु भन्ने छ ।” प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत जोन लागू भएको हो । सन्दकपुर गाउँपालिकाको पाँचवटा वडा र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा जोन कार्यक्रम लागू भएको हो ।

किवी जोनअन्तर्गत किवीका बिरुवामा ५०, प्रयोगशाला सेवामा ८५, कृषि औजार तथा उपकरणमा ५०, साना सिँचाइ पूर्वाधारमा ८५, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शतप्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइन्छ । जोनका लागि आवश्यक ५०० हेक्टर जमिनमा यहाँ खेती गरिएको छ । तर जोनबाट अपेक्षाकृत किसानले फाइदा लिन नसकेको किवी जोन अध्यक्ष देउकुमार राई बताउनुहुन्छ ।

तालीम तथा प्रशिक्षणका कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेकाले जोनबाट आवश्यकताअनुसार फाइदा लिन नसकिएको अध्यक्ष राईको भनाइ छ इलाममा प्रतिहेक्टर एक दशमलव ५३ मेट्रिक टन किवीको उत्पादकत्व रहेको छ । जिल्लामा ९० प्रतिशत क्षेत्र किवी खेती गर्न सकिने कृषि विज्ञहरूको दाबी छ । जिल्लाभर १५ हजार जति किसान किवी खेतीमा संलग्न रहेको तथ्याङ्क छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।