टुर प्याकेज ल्याउन धनकुटाको हिलेमा होटल व्यवसायीसँग छलफल
धनकुटा खबर । कोरोना महामारीको कारण प्रभावित पर्यटन व्यवसाय प्रवद्र्धनका लागि आन्तरिक पर्ययटन प्रवद्र्धन टुर प्याकेज ल्याउन होटल व्यवसायीहरुसँग थप छलफल गर्ने निर्णय गर्दै हिले पर्यटन प्रवर्द्वन तथा पूर्वाधार विकास संस्था धनकुटा १ हिलेको छैटौं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन आज हिलेमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्टको अध्यक्षतामा सञ्चालित साधारणसभामा सभाका प्रमुख अतिथि तथा धनकुटा नगरपालिका १ हिलेका अध्यक्ष निरेन तामाङ्ले हिलेका लागि पर्यटन व्यवसाय एक महत्वपूर्ण व्यवसाय भएको भन्दै कोरोना महामारीको वीच पनि यहाँ पर्यटन प्रवद्र्धनका धेरै कामहरु भईरहेको वताउनुभयो ।

जसअनुसार धनकुटा नगरपालिका १ नं वडा क्षेत्रमा क्रमागत योजना अनुसार विभिन्न ७ वटा भ्यू प्वईन्टहरु निर्माण गर्ने क्रम जारी रहेको उहाँ वताउनुभयो । साथै उहाँले आवश्यक योजना सञ्चालनका लागि वजेट माग गर्न नयाँ आर्थिक वर्ष शूरु हुनु अगावै वडामा प्रपोजल ल्याउन आग्रह गर्दै हिले पर्यटन प्रवर्द्वन तथा पूर्वाधार विकास संस्थाको कार्यलय व्यवस्थापनका लागि वडा बाट चालु आर्थिक वर्षमा ५० हजार रुपयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सभामा संस्थाका सचिव चन्द्रकृष्ण ठकुरीले अहिले सम्मको संस्थाको १ लाख ८५ हजार ६ सय ७९ रुपयाँ आय तथा २ लाख ७३ हजार २ सय ४ रुपयाँ व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सभाले खगेन्द्र कुमार विष्ट कै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।


