घर छाडेको दुई दिनपछि १४ वर्षीया किशोरीले म्यासेज गरिन्- मैले विवाह गरिसकेँ!
कैलाली, मंसिर २/कैलालीको जानकी गाउँपालिका-३ की १४ वर्षीया एक किशोरी गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो।
अभिभावकलेसानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन्। छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन्। छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनी म्यासेज गरे।
‘हामीले त्यस्तो म्यासेज गरेपछि छोरीले विवाह गरिसकेको सन्देश पठाइन्,’, किशोरीकी आमा दिव्या शर्माले भनिन्, ‘मैले घर फर्काएर ल्याउँ भनेँ तर श्रीमान् र घरका अन्य सदस्यले मानेनन् । इज्जत फालिसकेकी छोरी ल्याउनु हुन्न भने।’
लामो समय विद्यालय बन्द भएपछि छोरीले विवाह गरेको दिव्याको भनाइ छ। १० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ,’ आमा दिव्याले भनिन्, ‘मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछ, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिन्।’
कोरोना महामारीका कारण धेरैजसो विद्यालय गएको चैतदेखि नै बन्द छन् । केही विद्यालयले अनलाइन कक्षा शुरु गरे पनि अधिकांश विद्यालयको पढाइ नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । यसबीचमा विद्यालय जाने उमेरका बालबालिकाको विवाह अघिल्लो वर्षको भन्दा दोब्बरले बढेको प्रहरीको तथ्याङ्क छ।
कैलालीको टीकापुर नगरपालिकाको बटनपुरस्थित त्रिभुवन माविका शिक्षक आशा कठरिया बालविवाह बढिरहेको बताउँछन्। ‘लकडाउनपछि बालविवाह बढेको छ । बालविवाह गरेका धेरै किशोरी गर्भवती भएकाले उनीहरुको पढाइमा बाधा पुग्छ’, कठरिया भन्छन्, ‘हाम्रै विद्यालयमा हरेक वर्ष कम उमेरमै विवाह गरेका कम्तीमा पाँच जनाले विद्यालय छाड्छन्।’
गत चैतबाट विद्यालय बन्द भएपछि कम उमेरमा विवाह गर्ने विद्यार्थी अझ बढेको हुनसक्ने उनले बताए। ‘हामी विद्यालयको कक्षामा बालविवाहबारे धेरै छलफल गर्छौँ, बालविवाहका असरबारे सचेत गराउँछौँ। तर पनि बालविवाह रोक्न सकिएको छैन।’
अभिभावक रामफल चौधरी अभिभावककै कमजोरीका कारण पनि उमेर नपुग्दै बालबालिकाले विवाह गरिरहेको बताउँछन्। ‘बालविवाह गरेका जोडीलाई समाजले स्वीकार गरिरहेको छ । छोराले गरिहाल्यो वा छोरी गइहाली भनेर समाजले स्वीकारेपछि उजुरी पर्दैन,’ उनले भने, ‘गरिबीका कारण पनि बालविवाह रोक्न सकिएको छैन । छोरी जवान भए जिम्मेवारी उठाउन डराएर सानैमा विवाह गरिदिने अभिभावक पनि छन्।’
नेपाल प्रहरीको तथ्यांक अनुसार पोहोरभन्दा यस वर्ष बालविवाह दोब्बरले बढेको छ। पोहोर आर्थिक वर्षको पहिलो तीन महिनामा देशभरि १२ वटा मात्रै बालविवाह भएको थियो भने यस वर्षको पहिलो तीन महिनामा २६ वटा भएका छन्।
सामान्यतः बालविवाहको उजुरी नआउने हुनाले यो सङ्ख्या अझ धेरै हुनसक्ने प्रहरीको भनाइ छ । कैलाली जिल्लामा अघिल्ला दुई वर्ष एक÷एकवटा बालविवाहको उजुरी दर्ता भएकामा यस वर्षको तीन महिनामा दुई घटना दर्ता भएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले यस वर्षको तीन महिनामा बालविवाहसम्बन्धी एउटा मुद्दा चलाइसकेको छ।
‘एउटा विवाह मण्डपमै गएर रोकेको र तीन बालबालिकालाई सम्झाएर अभिभावकको जिम्मा लगाएका छौँ। यसले पनि बालविवाह दोब्बरले बढेको देखाउँछ,’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने, ‘बालविवाहको उजुरी नै पर्दैन, हामीले थाहा पाएर गए पनि अभिभावकले उमेर पुगिसक्यो भनेर झुक्याउने चलन अहिले पनि छ।’
बालविवाहलाई समाजले परम्पराका नाममा स्वीकारिरहेको देखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउँछन्। प्रहरीकै कुरालाई आधार मान्ने हो भने पनि उमेर नपुग्दै हुने विवाहलाई समाजले मान्यता दिइरहेको देखिएको बालकल्याण सङ्घका नयनतारा श्रेष्ठ पनि बताउँछिन्।
‘कम उमेरमा हुने विवाहले हुने असर कम गर्न विवाह नै गर्न र गराउन दिनुहुँदैन”, श्रेष्ठले भनिन्, ‘यसका लागि सबैभन्दा पहिला अभिभावक र समाज सचेत बन्न आवश्यक छ।’ रासस


