डोटीमा ७९९ एचआइभी सङ्क्रमितले सेवन गर्दै एआरटी, संक्रमितको संख्या घट्दै

डोटी । जिल्लामा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ । जिल्लामा विगतका वर्षहरुमा एचआइभी सङ्क्रमित आफू सङ्क्रमित भए पनि रोग लुकाएर बस्ने गरेकामा अहिले भने खुल्न थालेको बताइएको छ ।

डोटीमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बर्सेनि घट्न थालेको पाइएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने डोटीमा सङ्क्रमित घट्न थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका कारण घरमा श्रीमतीमा पनि एचआइभी देखिने गरेको पाइएको छ ।

एआरटी सेवनका कारण आफूलाई निकै सहज भएको डोटीका सङ्क्रमित बताउँछन् । आर्थिक वर्ष २०७३-७४ मा ४०, २०७४-७५ मा ३५ र २०७५-७६ मा २९ जना एचआइभी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उनले भने, “अर्थाभावका कारण सङ्क्रमितको दैनिक जीवनयापनमा समस्या परिरहेको भए पनि उनीहरुको उपचारमा उल्लेख्य प्रगति भएका कारण सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।” एचआइभी सङ्क्रमित बढी हुने क्षेत्रमा सुदूरपश्चिम प्रदेशको डोटी तेस्रो जिल्ला हो ।

पहिलो कैलाली तथा दोस्रो जिल्लाका रूपमा अछाम पर्दै आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार एचआइभीका कारण जिल्लामा १७२ जनाको मृत्यु भइसकेको छ । राज्यले एचआइभी सङ्क्रमितका सवालमा केन्द्रित रहेर अहिलेसम्म पनि खासै ठोस कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमित दुःखमा पर्ने गरेको सङ्क्रमितहरुको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमलादेवी मल्लले बताए । उनले भने, “हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी सङ्क्रमितका समस्या जस्ताका तस्तै छन्, सङ्क्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।”

पछिल्लो समयमा देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी सङ्क्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको पूर्वीचौकी गाउँपालिकाका एचआइभी सङ्क्रमित रमा कुँवरले बताए । उनले भने, “सङ्क्रमितले एआरटी सेवन गर्ने समयमा नियमित पौष्टिक आहार खानुपर्छ, हामीलाई दैनिक हातमुख जोर्न धौधौ छ, कहाँबाट पौष्टिक आहार खानु ।”

जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघु उद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए । उनले भने, “एचआइभी सङ्क्रमित कति छन् भनेर खोजी गर्नुभन्दा पनि सङ्क्रमितलाई कसरी बचाउने र घटाउने भन्ने विषयमा ध्यान दिएर सबै संस्थाले काम गर्न जरुरी छ ।”

यहाँ एचआइभी सङ्क्रमणदर घट्दो क्रममा रहेको पाइएको छ । छिमेकी जिल्ला अछाममा आर्थिक वर्ष २०६५–६६ मा २२२, आव २०६६–६७ मा ९३, आव २०६७–६८ मा १३०, आव २०६८–६९ मा ९९, आव २०६९–७० मा ८६, आव २०७०–७१ मा ८१, आव २०७१–७२ मा ७३, आव २०७२–७३ मा ६६ र आव २०७३–७४ मा ६७ नयाँ एचआइभी सङक्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त तथ्याङ्कअनुसार अछाममा मात्रै हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।