प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने चेतावनी

काठमाडाँै, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिनुभयो ।

अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उहाँले बताउनुभयो । विसं २०६२÷०६३ को जनान्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उहाँले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने विचार राख्नुभयो ।

उहाँले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएपछि राजनीतिक स्थायित्व होस्, रोजगारी सिर्जना होस्, आर्थिक समृद्धि होस् भन्ने चाहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै जनताका पक्षमा काम हुन नसकेको आरोप लगाउनुभयो । “निर्वाचनका माध्यमबाट नेकपाले दुई तिहाइ जनमत प्राप्त गरेपछि सबै क्षेत्रमा न्याय, सुशासन र समृद्धिको नयाँ युग शुरु हुनेछ, अप्ठ्यारोमा परेका जनतालाई कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले राहत दिन्छ भन्ने सोचिएको भए पनि हामीले त्यसो गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि घोषणापत्रमा भनेजस्तै गर्न नखोजेको भने होइन, पार्टी एकताबखत भएका सहमति, समझदारी लागू गर्नबाट उहाँ (प्रधानमन्त्री) पछि हट्नुभयो ।”

सहमति गर्ने तर लागू नगर्ने, प्रधानमन्त्री पाउनका लागि जे पनि सहमति गरिदिने तर सत्ता प्राप्त गरेपछि एउटा पनि कार्यान्वयन नगर्ने लक्षण शुरुदेखि नै आभास भएको पनि उहाँले टिप्पणी गर्नुभयो । “हामीले त्यसका विरुद्ध पनि बहस र सङ्घर्ष गरेका थियौँ । हामीले तीन वर्षमा प्रधानमन्त्रीलाई तह लगाउन सकेनौँ, हाम्रा पनि केही कमीकमजोरी रहे”, अध्यक्ष दाहालले भन्नुभयो ।

‘पार्टी विधान नमानेकाले’ प्रधानमन्त्रीका विरुद्ध आफूहरुले पार्टी कमिटीभित्र सङ्घर्ष गर्दै आएको उहाँले बताउनुभयो । “यति गर्दा पनि प्रधानमन्त्रीलाई सच्चाउन सकिएन, म आत्मालोचना गर्न चाहन्छु”, उहाँले भन्नुभयो, “आज आएर प्रधानमन्त्रीले पार्टी विधान, पार्टीभित्र भएका सहमति नमान्ने मात्र होइन, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नमानेर विध्वंसतर्फ जाने काम गर्नुभयो ।”

अध्यक्ष दाहालले अब पार्टीभित्र विधान र निर्णय नमान्ने प्रवृत्तिलाई उदार भएर अगाडि जान नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “हामीले उहाँलाई मात्र दोष दिएर चोखो हुन्छौँ भन्ने लाग्दैन । त्यस्तो खालको भुल अब हामी गर्ने छैनौँ”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएकोसमेत बताउनुभयो ।

‘समाजवादको नेपाली मोडल बनाउन चाहन्छौँ’

आफूहरुले पार्टीलाई सिद्धान्तमा आधारित पार्टी बनाउन चाहेको पनि उहाँले बताउनुभयो । “माक्र्सवाद, लेनिनवादको निर्देशनमा चल्ने पार्टी बनाउन चाहेका छौँ । समाजवाद र सामाजिक न्यायप्रति इमान्दार, जनवादी केन्द्रीयतामा चल्ने, सङ्गठनात्मक विधि पद्धतिमा चल्ने, नेपाली जनतालाई राहत दिने र सक्ने, सामाजिक न्यायसहित निजी तथा सहकारीसँग सहकार्य गरेर समाजवादको नेपाली मोडेल बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

मुलुकलाई समृद्ध बनाउने, जनतालाई सामाजिक न्याय दिने, बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसर दिलाउने, उद्योग– व्यवसाय फस्टाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने, सबै जातजाति, भाषाभाषी, समुदायका जनतालाई न्याय दिनेमा आफूहरुको चिन्ता रहेको उल्लेख गर्दै उहाँले पार्टी घोषणापत्र तथा विधानमा यही लेखिएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।

मुलुक कोरोनाले आक्रान्त हुँदा जनतालाई राहत दिन सहजीकरण गर्ने ढङ्गबाट संयन्त्र बनाउन आफूले आह्वान गर्दा पनि त्यसलाई व्यङ्ग्य गरिएको उहाँले गुनासो गर्नुभयो ।

आमसभालाई पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटीका सदस्य घनश्याम भुसालले सम्बोधन गर्नुभएको थियो । सभा अगाडि हजारौँ नेताकार्यकर्ताले राजधानीका विभिन्न नौ स्थानबाट जुलूस निकालेका थिए । नेकपाको प्रदर्शनका कारण आज बिहानैदेखि राजधानीको सार्वजनिक यातायात अस्तव्यस्त भएको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।