सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई
इलाम, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताउनुभएको छ । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गर्नुभयो ।
पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत ९जबज०को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताउनुभयो । संसद्मा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताउनुभयो । सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईले जिकिर गर्नुभयो । (रासस)
यो पनि पढ्नुहोस्…
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी समकक्षीलाई बधाई
काठमाडौँ, १५ माघ (रासस) ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालको सामाजिक–आर्थिक विकासका निम्ति अमेरिकाले गरेको सहयोगको सराहना गर्दै उहाँले सन्देशमा बहुपक्षीयतासहितको नयाँ अमेरिकी नीतिमा दिइएको उच्च महत्वले पारस्परिक सहयोगको मार्गलाई थप विस्तार गर्ने बताउनुभएको छ । कोभिड–१९ को महामारीका सन्दर्भमा विश्व स्वास्थ्य, जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत साझा हितका विषयमा अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपाल सरकारको प्रतिबद्धता मन्त्री ज्ञवालीले सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले विकास साझेदारी, आर्थिक सहकार्य र दुई देशका जनताबीचको सम्बन्ध अभिवृद्धिका निम्ति पनि सन्देशमा जोड दिनुभएको छ ।


