स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

खेमराज गौतम गलकोट, १७ माघ (रासस) ः नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा समेत लगाउन थालिएको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ । कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाट समेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन् ।

बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुशी लागेको बताउनुभयो । “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो”, डा पराजुलीले भन्नुभयो, “जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु ।”

धौलागिरि अस्पताल नेपालमै पाँचौँ र छैटौँ कोरोना सङ्क्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ । पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गर्नुभएको थियो । पहिलो दिनमै बागलुङका ११७ स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए । दोस्रो दिन बिहीबार २७८ ले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिनुभयो । गुरौँका अनुसार बागलुङमा एक हजार ९६० डोज खोप आएको छ ।

डा पराजुलीले जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया देखा पर्ने भन्दै सबैलाई संयमित हुन आग्रहसमेत गर्नुभएको थियो । खोपका बारेमा चलाइएका अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै डा पराजुली खोप सबैसम्म पु¥याउनुपर्ने र आमनागरिकले अब प्रयोग गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिनुभएको छ । उहाँले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताउनुभयो । “सेवामा खटिँदा सङ्क्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु”, घिमिरेले भन्नुभयो, “यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु ।” सङ्क्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुशी भएको उहाँको भनाइ छ ।

आफूले खोप लगाउन पाउँदा निकै खुशी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताउनुभयो । आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताउनुभयो । “पहिले सङक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ”, रिजालले भन्नुभयो, “अब ढुक्क भएर सेवा दिन पाइने भयो ।” खोप लगाउन डराउन नहुने उहाँको भनाइ रहेको छ ।

यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुशी भएको बताउनुभयो । अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ । खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रष्ट पारेको छ ।

शान्ति बौद्ध विहार गुम्बाको शिलान्यास

भूकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध विहार गुम्बाको पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ ।

विसं २०७२ को भूकम्पले क्षति पु¥याएको सो बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न एक महीना अघिबाट शुरु गरेको थियो । जग्गा सम्माउने कार्य सम्पन्न भइसकेपछि बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गर्नुभएको थियो । उहाँले बागलुङमा बुद्धमार्गीको प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ गुम्बा निर्माण थालिएको बताउनुभयो । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनःनिर्माण शुरु गरिएको छ ।

विसं २०६२ मा स्थापना भएको सो गुम्बा २०७० सालमा विधिवत् दर्ता भएर सञ्चालनमा आए पनि सोही वर्षको भूकम्पले क्षति पु¥याएका कारण पुनःनिर्माण गर्नु परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार रु ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा पुनःनिर्माण थालिएको हो । रु ६१ लाखमध्ये प्राधिकरणले रु ४० लाख र रु २१ लाख स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिने बताइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा राडयाडाँडा निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो । यही असार १० गतेसम्म सक्ने गरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।