प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नतिको शुभारम्भ

नारायण अधिकारी,चितवन, १७ माघ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गर्नुभएको हो । उहाँले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गर्नुभएको हो ।

सो अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले केहीबेरपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई छ लेनमा विस्तार गर्न लागिएको हो । शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सडक निर्माणको जिम्मा इण्डो सगुन जेभी बुटवलले पाएको छ । दुई वर्ष चार महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ । सम्झौतापछि ठेकेदार कम्पनीले काम गरिरहेको छ । डिभिजनल प्रमुख कृष्णराज अधिकारीका अनुसार रु एक अर्ब १२ करोड लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

टिकौली वन छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने अधिकारीले जानकारी दिनुभयो । सडक छेउका अतिक्रमित घरटहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ भने ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ । शहरी सौन्दर्यतालाई समेत ख्याल गरेर सडक स्तरोन्नति गरिँदै छ ।

सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्र हुनेछ । त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुने अधिकारीले जानकारी दिनुभयो । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुनेछ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरकफरक रहेको छ । पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलगअलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ ।

यो क्षेत्र जिल्लाको घनाबस्ती र बजार रहेको क्षेत्र हो । यसकै आसपासमा अधिकांश सरकारी कार्यालय रहेका छन् । बाइपास सडक र ग्रामीण क्षेत्रबाट आएका सडक यही आएर जोडिएका छन् । भरतपुर विमानस्थल यसै सडकसँग जोडिएको छ । विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डसँगै यसलाई पनि स्तरोन्नति गर्न लागिएको हो । यस क्षेत्रको सडक साँघुरो हुँदा दुर्घटना हुने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।