राष्ट्रपतिबाट वाङ्मय शताब्दी पुरुषको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान

काठमाडौँ, २० माघ (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गर्नुभएको हो । जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्वीराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो । गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित पाँच पुस्तक र जोशीले सिर्जना गर्नुभएका गीतसङ्ग्रह ‘क्रान्तिका लहर’ नामक सिडी राष्ट्रपतिसमक्ष अर्पण गर्नुभएको थियो ।

जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा भएको थियो । कला, संस्कृति र साहित्यका धनी जोशीले २०७४ वैशाख २१ गते वाङ्मय शताब्दी पुरुषको उपमा पाउनुभएको थियो । उहाँले मदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीपलगायत पदक र पुरस्कार प्राप्त गर्नुभएको छ । जोशीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । उहाँको सम्मानमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट उहाँको तस्वीराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्का निष्काशन गरिएका छन् ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रुपमा पहिलो व्यक्ति जोशी रहेको बताउनुभयो । “वाङ्मय शताब्दी पुरुष जोशीको आजदेखि जीवनको नयाँ इतिहास शुरु भएको छ, यो इतिहासको दस्तावेजका रुपमा रहेको छ”, नेपाल सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, “एक जुगमा एक दिन एक पटक आउँछ भने जस्तै शताब्दी पुरुषको जीवनकालमा एक दिन आएको छ, त्यही एक हो जुन दिन राज्यले सम्मान प्रकट गरेको छ ।”

कला, संस्कृति र साहित्यको ज्ञाता जोशीलाई राज्यले बुझेको जनाउँदै मन्त्री गुरुङले उहाँ यस शताब्दीका हरेक दिनको साक्षीका रुपमा रहनुभएको बताउनुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।