प्रेमिल गीतका कुशल शब्द संयोजक निलम

मान्छेको परिस्थिती र परिवेश अनुसार मन र जीवनलाई भोगिरहेको समयले जसरी प्रभाव पारिरहेको हुन्छ, त्यसरी नै संगीतको माधुर्यताले पनि भूमिका खेलिरहेको हुन्छ चाहे कुनै कुशल वाध्यवादकले आफ्नो कलाकौशलताले बजाएको धून होस वा प्रकृतिमा स्वस्फुर्त गुन्जिरहेको ध्वनीहरु त्यसले मान्छेलाई प्रभाव पारिरहेको हुन्छ । यसैले त भनिन्छ सुखमा संगीत, दु:खमा संगीत, जीवन जगतका प्रत्येक आयाममा संगीत ! ऐतिहासिक रुपमा नेपाली गीतको शुरुवात बि सं १९६० सालपछि नेपाली आधुनिक संगीत यात्रा सेतुराम श्रेष्ठबाट सुरु भएको देखिन्छ । सानै उमेरदेखी गायनमा रुची राख्ने सेतुरामले बि स १९६५ सालमा पहिलो पल्ट राष्ट्र विभुती मोतीराम भट्टले रचेका “यता हेर्यो यतै मेरो नजर” बोलको गजल रिकर्डिङ गरेका थिए । यस गीतको लय र संगीत पनि उनी आफैले गरेका थिए ।

डायस्पोराबाट नेपाली गीत संगीतमा पहिलो शुरुवात गर्ने स्रस्टामा मास्टर मित्रसेन थापामगरको नाम आउँछ । भारतको हिमांचल प्रदेशको भाग्सुमा अवस्थित ब्रिटिस छाउनी धाराखोलामा हवल्दार मानविर सिंह थापामगर र आमा राधा थापामगरको कोखबाट सन २९ डिसेम्बर १८९५ सालमा जन्मिएका मित्रसेन थापामगरले “लाहुरेको रेलिमाई फेसनै राम्रो” “अब त जाउँ कान्छी घर” “मलाई खुत्रुकै पर्यो जेठान तिम्रो बहिनीले” जस्ता लोक भाका र सैन्य गीतहरु गाएर शुरु गरेका थिए ।

यसरी नेपाली संगीतको दायरा फराकिलो बन्दै जाने क्रममा अनेकौ परिवर्तनहरु आए र गए , यसरी नेपाली संगीत आकाशमा मास्टर रत्नदास प्रकाश, कोईली देवी, मेलवा देवी, नाती काजी, अम्बर गुरुङ, नारायण गोपाल, तारा देवी, गोपाल योन्जन, भक्तराज आचार्य, दिव्य खालिङ, अरुणा लामा जस्ता जाज्वल्यमान नक्षत्रहरुको उदय हुँदै गयो ।

नेपाली गीत, संगीतमा महिला गतिकारमा पहिलो को भन्ने कुरा कतै प्रष्टरुपमा भेटिदैन । यस सम्बन्धी गायक, संगीतकार तथा अनुसन्धानकर्ता बुलु मुकारुङका अनुसार पहिले नेपाली गीतहरुमा गीतकारको नाम हुदैन्थ्यो । मेलवादेवी, पञ्चवालादासी, जोनी सिंह आदिले गाएका नेपाली गीतहरुमा पनि गीतकार त के संगीतकारको सम्म पनि नाम उल्लेख भएको पाइदैन ।

रेडियो नेपालको स्थापनासँगै गीतकारहरुको नाम उल्लेख हुनेगरेको पाइन्छ । यसमा पनि नारी हस्ताक्षरको संख्या भने निकै कम रहेको छ । गीतकार चाँदनी शाह, कोइली देवी, छिन्नलता, उवर्शी केशरी, उन्नती बोहरा शिला, शित्तल कदाम्बिनी, ललिता कुवर, गायत्री थापा, गीता त्रिपाठी, उषा शेरचन, शोभा केसी लगायतका पछिल्लो पुस्ताका नारी हस्ताक्षरहरु हुन ।

यही क्रममा मास्टर मित्रसेन थापामगरको पाईलाहरु पच्छ्याउँदै थुप्रै प्रवासी लाहुरे स्रस्टाहरुले नेपाली गीत संगीतमा आफ्नो दक्षता अनुसार योगदान दिदै आएका छन । अहिले गीत, संगीत अनि चलचित्रको सबै विधामा गोर्खा सैनिक र उनीहरुका परिवारहरुबाट दरिलो हस्तक्षेप भईसकेको छ र सशक्त पहिचान बनिसकेको छन ।

यसै गरी बेलायतको लाहुरे समुदायबाट नेपाली कला र साहित्य र संगीतका अन्य विधाहरुमा जस्तै आफ्नो सशक्त गीती लेखनद्वारा गीतिकारीतामा सशक्त सहभागी जनाउने नारी गीतकारहरुको थुप्रै छन , जस मध्ये निलम आङ्बुहाङ राईको नाम अग्रपंक्तिमा आउँछ । लेखन मात्रै नभएर उनको नाम व्यवसायिक रुपमा नेपाली गीती लेखनबाट गीती एल्बम निर्माण गर्ने लाहुरे समुदायको नारी हस्ताक्षरको रुपमा पनि उनी पहिलो हुन । बि सं २०६२ सालमा सार्वजनिक भएको “जुनी जुनी” गीती एल्बमले निलम आङ्बुहाङ राईलाई स्वदेश अनि विदेशमा गीतकारको रुपमा स्थापित गरायो । उक्त एल्बम त्यो बेलाको परिस्थिति अनुसार नेपालमा सर्वाधिक बिक्री भएको गीती एल्बमको रुपमा चिनायो । अहिले गीत एल्बममा खर्च गर्नु भनेको बालुवामा पानी हाल्नु सरह बनिसकेको अवस्था छ ।

इलामको शान्त प्रकृतिको काखमा जन्म लिएकी निलम आफै पनि शान्त र सौम्य भावनामा रम्न रुचाउँछिन । एकान्त वातावरणमा एकाग्र चित्तले साधनारत रहेर फरक फरक भावहरुका गीत रचना गर्छिन, यद्धपी उनको नाँचु नाँचु लाग्ने, उसै उसै मन रमाउने प्रेमिल भावका गीतहरुले नै आफ्ना श्रोता र शुभचिन्तकहरुको प्रिय बन्छिन ।

मन्दिरको ईश्वर सधैं मौन बसिदिन्छन
मस्जित गुम्बा चर्च सबै चुपचाप हेर्छन
नारी हिंसा अत्याचार किन सधैं यहाँ हुन्छ
दु:ख पिडा आँशु केवल नारीलाई मिल्छ !
एल्बम:-निलम, स्वर:-रिमा गुरुङ, संगीत:- शान्तिराम राई

निभी जाने दीप होईन ओईली झर्ने फूल होईन
सृष्टिको भगवान हो माया अल्लारेको भुल होईन !
एल्बम:- जुनी जुनी-२, स्वर:-संजीवनी, संगीत:- सुरेश अधिकारी

निलमको भगवानको प्रति कति आस्था छ, मलाई थाहा छैन, यो उनको निजत्व हो तर यि गीतका हरफहरु सुने पछि भने उनको निम्ती माया नै भगवान हो र माया नै सर्वश्व हो भन्ने बुझिन्छ । आफ्नो गीतहरुबाट नै उनी अहिले समाजमा घटिरहेको नारी उत्पिडन र अत्याचारको नमिठो खबरहरुले आक्रान्त भएको मनका मर्म र भावनाहरुलाई गुनासोको रुपमा अभिव्यक्त गर्छिन, ति पिडा र उत्पिडनमा भगवान होईन आफ्नै चेतना र बौद्धिक क्षमताले पार पाउनु पर्छ भन्ने सन्देश दिन चाहन्छिन ।

कहिले फेरी अहिले डिजिटल संसारमा सामाजिक संजालबाट भईरहेको विकृति र मायालाई सस्तो खेल सम्झने बैशालुहरुलाई माया भन्ने कुरो अल्लारे बैंशमा गर्ने गल्ती र भुल होईन भन्ने सन्देश दिन खोज्छिन । मायालाई नै भगवान हो भनेर आफ्नो अभिव्यक्ति दिने निलमको पारिवारिक तर्फ नियाल्ने हो भने हाल आफ्नो श्रीमान लेखराज राई अनि दुई सुपुत्रीहरु लरिन र लेनिस्कासङ्ग बेलायतको अल्डरशटमा सुखद अनि सफल वैवाहिक जीवन बिताईरहेकी छिन ।

तिमीलाई देखुँ तिमीलाई भेटुँ हर साँझ बिहानी
मरेछु भने शिरमा रहोस तिम्रो हात सिरानी !
एल्बम:- जुनी जुनी-२ स्वर:- संजीवनी, संगीत:-सुरेश अधिकारी

आफ्नो जीवनसाथी लेखराज प्रति समर्पित हुन्छिन, उनलाई सर्वश्व ठान्छिन भने गीतकै हरफहरुमा आफ्नो प्यारी छोरीहरुको निम्ती आफ्नो ममता पोख्छिन ।

सुन्दर कोमल कोपिला तिमी, जीवनको मिठो बहार तिमी
संसारकै राम्री परी तिमी, बाँची रहनु जून झै तिमी
यही नै हाम्रो एउटा चाहना !
एल्बम:-जुनी जुनी-२, स्वर:-रजिना रिमाल, संगीत:-सुरेश अधिकारी

लोकप्रिय गीत, गजलकार शित्तल कादम्बिनीको अभिव्यक्ति “नारी गीतकारको संख्या नेपाली संगीताकाशमा धेरै नै भए पनि सबैले निरन्तरता दिने निकै कम छन” यही कथनलाई मनन गर्दा यहाँ बेलायतमा पनि नारी गीतकारहरु धेरै भएता पनि निरन्तर लागीपर्ने थोरै मात्र देखिन्छ । यसका कारणहरु गीती निर्माणसङ्गै अहिले भिडियो पनि बनाउनु पर्ने महङ्गो आर्थिक भार, दैनिक कामको ब्यस्तता, पारिवारिक तथा अन्य कारणले यस्तो भएको हुन सक्छ तर यस्ता सबै बाधा अप्ट्याराहरुबाट झुझ्दै निलमले सांगीतिक यात्रालाई मिठो मिठो गीत र भिडियोहरु आफ्न श्रोता र दर्शकहरुलाई पस्किरहेकै छिन ।

इतिहास अमर राख्नु तिमीले
विचलित त्यहाँ कहिल्यै नहुनु
वीर गोर्खाको नासो हौ तिमी
दु:खमा कहिल्यै न आतिनु
कर्तव्य सधैं कठोर हुन्छ
साहस गरी अगाडी बढनु !
“गीतीसङ्रह_ अन्तर्मनको तरङ”

शायद यस्तै मनोभावनाले उनलाई सधैं जोश जाँगरको साथ लेखिरहने उर्जा दिन्छ र निरन्तर लेखनमा जागरुक रहिन्छिन । उनको यो हरफहरुले मलाई अतितको घटना सम्झेँ, सानो तर गम्भिर कुरो के भने, करिब १०, १२ बर्ष अघिको कुरो हो मैले निकै आदरभावको साथमा हेर्ने एकजना लाहुरे परिवेशकै अग्रज मानिने स्रस्टा दाजु (नाम खुलाउन चाहिन) ले मलाई “भाई हामीले आफ्नो परिचय दिदाँ लाहुरे भनेर भन्नु हुँदैन है अरुले गन्दैन” भन्नु भएको थियो, म उहाँलाई राम्रो रचनाहरु गर्न सक्ने अग्रजको रुपमा सम्मान गर्थेँ, गरी नै रहने छु तर म उहाँको यस विचारमा सहमति थिईन र कदापी हुने पनि छैन किनकी रहरले होस वा बाध्यताले मलाई कर्म दिएको बाँच्न सिकाएको र जीवनसङ्ग साक्षात्कार हुन सिकाएको यही लाहुरे कर्मले हो, यसकारण मलाई आफुले गरेको र भोगेको जीवनको कर्म, कर्तव्यप्रति कुनै हिनताबोध छैन, यो त मेरो जीवनको चिनारीसङ्गै जोडिएको महत्वपूर्ण पक्ष हो ।

यदि कसैले मेरो कर्म र व्ययक्तिक जीवनलाई सिर्जनासङ्ग जोडेर हेर्छन भने मलाई भन्नु केही छैन, त्यो उनीहरुको अस्वस्थ्य संकिर्ण सोच मात्रै हो, बस । जे होस निलमको माथिका हरफहरुले उनी आफैलाई र आफुसङ्गै गोर्खाली हुनु र इमान्दारितापूर्वक कर्तव्यपथमा अगाडी बढनुलाई गर्वले आत्मसात गरेकी छिन र आफ्नो अनुभूतिलाई लयात्मक अभिव्यक्त गरेकी छिन ।

विश्वमा जहाँ, जहाँ नेपालीहरु पुगेका छन त्यहाँ आफ्नो कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको जर्गेना गरेका छन । प्रवासमा रहेका नेपाली महिलाहरुको पनि विभिन्न साहित्यिक सिर्जनामा उल्लेखनिय स्थान रहेको पाईन्छ । कहिले काही निलम आफ्नो धारणामा बेलायतमा रहेर अन्य साहित्यिक विधाहरुमा जस्तै धेरै महिला, पुरुषहरुको गीत, संगीतका सबै विधा जस्तो, गायन, लय, संगीत, रिकर्डिङ र लेखनमा सघन रुपमा उपस्थिति भएको र यसले पनि नेपाली गीत, सङ्गीतमा नयाँपन, नौलो आयाम थपिएको र नेपाली संगीतसङ्ग जोडीएका कलाकार, वाध्यबादक र प्रविधिकहरुलाई पनि आर्थिक टेवा पुगेको सकरात्मक विचार व्यक्त गर्छिन ।

इलामको समालबुङमा बुवा खडगबहादुर आङबुहाङ र आमा रुक्मिणीदेवी आङबुहाङ्गको कोखबाट साउन ६ गते जन्मिएकी निलमको कर्मघर पनि माई पोखरी, इलाम नै हो । आफ्नो थातथलोलाई सदैव माया गर्ने उनको गीती लेखनमा पनि धेरै पटक आफ्नो गाउँघर झल्किएको भेटिन्छ, स्वदेशको माया र टाढा हुनुको वियोगको जलन भेटिन्छन ! उनको यो अर्ज्ञानीक कोमल अभिव्यक्तिले कसको मन नछोला र ? एल्बम:-जुनी जुनी-२ मा समाविष्ट संजीवनीको स्वर र सुरेश अधिकारीको संगीत रहेका यि गीतहरु,

पानी मिठो मेरो हजुर इलाम बजारको
माया मिठो मेरो हजुर त्यो मनभित्रको !

त्यसै गरेर डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
छाती भित्र मुटु पनि तिमीलाई बोलाउँछ …

जस्ता रुमानी शब्द संयोजन होस वा ” ओच्छ्यानै पो परिन कि त दमकी रोगी आमा, बाबा छन कि विपतिमा आङमा छैन घाम” जस्ता मन छुने हरफ निलमले हरेक शब्दमा आफ्नो कौशलता प्रदर्शन गररै श्रोताको मनमा बस्न सफल बनेकी छिन ।

यदाकदा उनलाई हिन्दी गायक गायिकासङ्ग मात्रै धेरै काम गरेको मित्थ्या आरोप पनि लाग्ने गरेको छ तर यो सत्य होईन उनले नेपालका अधिकाशं नयाँ, पुराना गायक गायिकाहरुसङ्ग काम गरेकी छिन । कुनै समय बि एफ बि एस गोर्खा रेडियोको अन्तर्वातामा निलमले भनेकी थिईन नेपाली चलचित्र “मनमन्दिर”को लौ है माया सुटुक्कै आउनु है भन्ने बोलको गीत सुनेर गायिका संजीवनीको स्वरबाट अत्यन्तै प्रभावित भएकी थिईन, संजोगवस संगीतकार सुरेश अधिकारीसङ्ग कामा गर्ने क्रममा उनको प्रिय गायिकासङ्ग आफ्नो पहिलो एल्बम निम्ती गीतहरु रिकर्ड गर्ने अवसर मिलेको बताएकी थिईन ।

त्यो पहिलो एल्बमको लोकार्पण पछि उनले कहिले पछि फर्केर हेर्नु परेन, एउटा प्रवासी नारी स्रस्टाले पाएको यो पहिलो ब्यापक सफलता थियो ! उक्त जुनी जुनी एल्बमको एक से एक गीतहरुले चर्चा पायो । कुमार सानु र संजिवनीको स्वर अनि सुरेश अधिकारीको संगीत रहेको “पुरानो हुँदैन माया” त हरेक संगीतपारखीको मनमा बस्यो ।

उनको हालसम्म प्रकाशित भएका कृतिहरु “इलामे चेलीका रचनाहरु” (संयुक्त कविता सङ्रह), “मेची किनार साहित्यिक त्रैमासिक” “प्रकाशन र व्यवस्थापन), “जुनी जुनी- भाग १ र २” (गीती एल्बम), “निलम” (गीती एल्बम), नेपाली चलचित्र “हसियाँ”मा गीतकारको हैसियतले काम गरे पश्चात हालसम्म निरन्तर रुपमा गीत र कविताहरु सिर्जना गरिरहेकी छिन ।

मुकेश राई,इलाम( हाल : बेलायत )

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।