महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ ः उपराष्ट्रपति पुन

काठमाडौँ, २४ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने खाँचो आँैंल्याउनुभएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गरेको नारी सम्मान समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्नेमा जोड दिनुभयो ।

महिला सशक्तीकरण कुनै पनि देशको विकाससँग जोडिएको सवाल भन्दै उपराष्ट्रपति पुनले महिलालाई दुई महत्वपूर्ण पाटो शिक्षा र आर्थिक क्षेत्रमा समानताको अवसर दिलाइनुपर्छ भन्नुभयो । उहाँले नेपालको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता आवश्यक रहेको र महिलाद्वारा सञ्चालित उद्योग व्यवसायमा राज्यले विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उपराष्ट्रपति पुनले नेपालमा विभिन्नखाले क्रान्ति र आन्दोलनमा महिलाको सक्रिय सहभागिता रहेको र उनीहरुको संलग्नता र सङ्घर्षबाटै अहिलेको उपलब्धी भएको भन्दै उहाँहरुको योगदान र वलिदानको उच्च सम्मान प्रकट गर्नुभयो ।

संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समानपक्षीय र राज्यका सबै निकायमा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान अधिकारलगायत विषयमा संविधानले महिलालाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको उहाँको भनाइ थियो । उपराष्ट्रपति पुनले सामाजिक न्यायसहितको समानुपातिक व्यवस्थाले आज राज्यका हरेक निकायमा महिला सहभागिता बढेको, जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी स्वास्थ्यलगायत विविध सेवामा महिला सहभागिता बढेको बताउनुभयो । उहाँले राष्ट्रियसभा र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता र स्थानीय तहमा करीब ४१ प्रतिशत महिला सहभागी रहनु नेपाल र नेपाली महिलाका लागि मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।

उपराष्ट्रपति पुनले राज्यको उच्च तह, राज्यका भिभिन्न निकायमा महिला सहभागिता बढ्नु गौरवको विषय भएपनि महिला हिंसाका घटना न्यूनीकरण नहुनु दुःखद् पक्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ससाना बालबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेका छन्, कतिपय घटनाका अपराधीहरु कानूनी दायरामा आउन सकिरहेका छैनन् र महिला हिंसाका अन्य घटना पनि बढिरहेकाले यसतर्फ सबै सरोकारवाला पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ । त्यसैले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सबै प्रकारका महिला हिंसाको अन्त्यका लागि संकल्पका साथ अघि बढ्न जरुरी छ ।”

उपराष्ट्रपति पुनले जबसम्म स्कुल, कलेज गएका छोरी, राति अबेरसम्म काम गर्नुपर्ने छोरी, बुहारी सुरक्षित रुपमा कार्यालयबाट घर नफर्केसम्म चिन्ता गरिहनुपर्ने अवस्थाको अन्त्य हुँदैन तबसम्म सुरक्षित र सभ्य समाज निर्माण नहुने बताउनुभयो । कोभिड–१९ महामारीका कारण ठूलो आर्थिक क्षति भई अघिल्लो वर्षको आर्थिक वृद्धि करीब दुई प्रतिशत ऋणात्मक भएको अवस्थालाई मध्यनजर गर्दै यसको सामना गर्न प्रभावकारी रणनीतिक योजना ल्याइनुपर्ने खाँचो औंल्याउनुभयो ।

नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेपरेजले महिलाको गुणात्मक सहभागिता र क्षमता अभिवृद्धिका लागि सबै पक्षको ध्यान जानुपर्ने बताउनुभयो । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाद्वारा उत्पादित सामग्रीको बजारीकरण र उपभोगका लागि आम समुदायलाई अपिल गर्नुभयो । संस्थाको महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले सञ्चालन गरेका उद्योग, व्यवसायलाई उत्प्रेरित गर्न सहुलियत तथा कर छुटको व्यवस्था गर्न माग गर्नुभयो ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरले महिला व्यवसाय र उद्यमशीलतामा उल्लेखनीय योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानीत हुनेहरुमा क्रमशः अदिती गोयललाई ‘आइटी एन्ड इनोभेसन’ अवार्ड, राधालक्ष्मी श्रेष्ठलाई ‘विजनेश मोटिभेसन’ अवार्ड, कन्काइ महिला ग्रुपलाई ‘एग्रो इन्टरपेर्नसिप’ अवार्ड, कृष्णा राणालाई ‘सोसियल इन्टरर्नसिप’ अवार्ड र रेखा चौधरी शर्मालाई महिला उद्यमी अवार्ड प्रदान गरेको छ । ती अवार्डहरु उपराष्ट्रपति पुनले वितरण गर्नुभएको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।