गैँडा गणनाको तयारी तिब्र, गणना यही चैत ९ गतेबाट हुने

नारायण अधिकारी,चितवन । यही चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु गरिने छ । गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ ।

गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणकहरु छनोटको काम थालिएको छ । गणनामा ४० वटा हात्ती प्रयोग गरिँदै छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिने छ । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ ।

बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइँदै छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिने छन् । गणनामा खटिनेका लागि यही चैत ६ र ७ गते सौराहामा तालिम दिइँदै छ । बरालले भने, “गणनामा ध्यान दिनुपर्ने विषयमा छलफलसँगै तालिम दिइने छ ।” गणनाका समयमा आवश्यक पर्ने सामग्री खरिद, फारम छपाइको काम यतिबेला भइरहेको उनले जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोटसँगै उनीहरुको बासस्थानको व्यवस्थापनलगायतका तयारी भइरहेको छ । निकुञ्जको गणना गर्नुपर्ने क्षेत्रको अध्ययन भइरहेको उनले जानकारी दिए । लामिछानेले भने , “हामी अन्तिम तयारीमा छौँ ।” यहाँका दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्ने उनले बताए ।

गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुँदैछ । विभागका दुई कर्मचारी तयारीका लागि यहाँ आइसकेका छन् । विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाको उद्घाटन वन तथा वातावरणमन्त्री प्रेम आलेले गर्ने कार्यक्रम छ । सौराहामा कार्यक्रमको उद्घाटन गरेर प्रतापपुरबाट गणना थाल्ने वा प्रतापपुरमा नै उद्घाटन गर्ने भन्ने विषयको टुङ्गो भने लागिनसकेको उनले बताए । एक÷दुई दिनमा नै विभागको उच्चस्तरको टोलीसमेत गणना तयारीका लागि चितवन आउँदैछ ।

आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा बजेट अभावमा गणना हुनसकेको थिएन ।

सरकारले गत वर्ष गैँडा गणनाका लागि रु एक करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले रु ८० लाख विनियोजन गरेको छ । दाताबाट रु २५ लाख हाराहारी सहयोग हुने उनले जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका सङ्घसंस्थाको सहयोगमा गैँडा गणना गरिँदै छ । हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ ।

यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायत प्रयोग गरिन्छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको थियो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए ।

तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको अधिकारीले बताए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।