नयाँ घर पाउँदा भगवानको नजर परेको भन्दै मुसहर बस्तीमा खुशीयाली

कनकाई, चैत ४ । झापाको कनकाईमा ‘मेयर आवास कार्यक्रम’अन्तर्गत स्थानीय मुसहर बस्तीका विपन्न परिवारलाई शौचालयसहितको घर हस्तान्तरण गरिएको छ । घरबारविहीन विपन्न परिवारलाई जस्ताको छाना भएको घरमा बसोबासको व्यवस्था मिलाउने अभियानमा क्रियाशील स्थानीय सरकार कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरतास्वरुप कनकाई–४ स्थित मुसहर बस्तीका १४ परिवारलाई जस्ताको छाना भएको शौचालयसहितको घर हस्तान्तरण गरेको हो ।

ह्याविट्याट नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै सहारा नेपालको प्राविधिक सहयोगबाट निर्माण भएका सबै घर निर्माण सम्पन्नपछि ह्याविट्याट नेपालका राष्ट्रिय निर्देशक कृष्टि स्टिक्नी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्तरूपमा मेयर आवासको चाबी परिवारजनलाई हस्तान्तरण गर्नुभएको हो ।

जन्मँदै घरबारविहीन भएर वर्षौँसम्म कष्टकर जीवन बिताउँदै आएका मुसहर परिवारले शौचालयसहितको घर पाउँदा भगवान्को नजर परेको भन्दै खुशी व्यक्त गरेका छन् । परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका मुसहर बस्तीका हरि ऋषिदेवले जस्ताको छाना भएको तीनकोठे घर पाएपछि आफूहरूले नयाँ जीवन पाएको अनुभव सुनाउनुभयो ।

नगरपालिकाले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै विभिन्न दातृ निकाय र सङ्घसंस्थासँगको सहकार्यमा २१९ वटा घर निर्माण सम्पन्न गरी परिवारजनमा हस्तान्तरण गरिसकेको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो । कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षमा नगरपालिकालाई जीर्ण घरमुक्त नगरपालिकाका रूपमा घोषणा गर्ने अभियानमा आफूहरू लागेको बताउनुभयो । पोखरेलले यसै आवमा समेत अन्य दातृ निकायसँग साझेदारीमा काम गर्नका लागि रु दुई करोड विनियोजन गरिसकिएको जानकारी दिनुभयो । उहाँले अर्को वर्ष अन्य विकासका बजेट कटौती गरेर भए पनि कनकाईलाई देशकै पहिलो जीर्ण घरवासमुक्त नगर घोषणा गर्ने बताउनुभयो । नेपालको पहिलो उज्यालो नगरी घोषणाको तयारीमा रहेको नगरपालिका यसअघि देशकै पहिलो विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ ।

सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पनालाई साकार पार्ने अभियानमा कनकाई नगरपालिका अग्रस्थानमा देखिएको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले खुशी व्यक्त गर्नुभयो । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी लिएसँगै जनतालाई घरघरमै सिंहदरबार आएको अनुभूति हुन थालेको भन्दै उहाँले यस अभियानमा कनकाई नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा साझेदारी संस्थाका रूपमा रहेको सहारा नेपालका कार्यकारी निर्देशक गिरीले झापामा कनकाई, बाह्रदशी, झापा गाउँपालिका, बिर्तामोड, गौरीगञ्जसहित प्रदेश नं १ मा स्थानीय सरकारसँगको साझेदारीमा हालसम्म एक हजार ८०४ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिनुभयो । पाँच वर्षयता ह्याविट्याट नेपाल, सहारा नेपाल र स्थानीय तहसँगको त्रिपक्षीय साझेदारीमा रु १४ करोड ९९ लाख लागतमा छाना कार्यक्रमअन्तर्गत सामुदायिक आवास निर्माण योजना सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

घर निर्माणको साझेदारी संस्था ह्याविट्याट नेपालका कार्यक्रम निर्देशक युवम मल्लले सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था ह्याविट्याट नेपाल एउटा माध्यम मात्र भएको भन्दै विपन्न परिवारको घर निर्माणका लागि कनकाई नगरप्रमुखको सक्रियताका कारण यहाँका विपन्न परिवारलाई यो अवसर प्राप्त भएको बताउनुभयो । मल्लले अन्य विपन्न परिवारको घर निर्माणका लागि समेत हातेमालो गर्न संस्था तयार रहेको बताउनुभयो ।

कार्यक्रममा कनकाई–४ का वडाध्यक्ष एवं नगर प्रवक्ता गोविन्दप्रसाद पौड्यालले निर्वाचनका बेला जनप्रतिनिधिले गरेको प्रतिबद्धता पूरा गर्ने काममा स्थानीय सरकार क्रियाशील रहेको भन्दै थप विपन्न परिवारको पहिचान गरी घर निर्माण गर्ने कामलाई निरन्तरता दिँदै अघि बढ्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।