नेपाल–भारत मैत्री संघको सातौं केन्द्रीय महाधिवेसन नेपालगञ्जमा शुरु
सिराज खान/नेपालगञ्ज, चैत ७ गते । नेपाल–भारत मैत्री संघको सातौं केन्द्रीय महाधिवेसन शनिबारदेखि नेपालगञ्जमा शुरु भएको छ । महाधिवेसन उदघाटन् गर्दै नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले नेपाल र भारतको सम्बन्ध बुझ्न सीमा नाकामा आए सजिलो हुने बताउनुभएको छ ।
उहाँले राजधानीमा बसेर दुबै देशको सम्बन्ध तय गरिने गरिएकोलेनै बेला बेलामा सीमानामा समस्या आउने गरेको बताउनुभयो । भूगोलले नेपाललाई भारततर्फ फर्काएको हुँदा दुबै देशका करोडौं जनताका सम्बन्ध प्रत्यक्ष गाँसिएको जनाउँदै उहाँले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताको चाहना अनुसार नै नेपाल भारत सम्बन्ध सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बोल्दै भारतका लागि नेपालका पूर्व राजदुत प्रा. लोकराज बरालले दुबै देशको सम्बन्ध नेपाल र भारतको सरकारले बनाएको सम्बन्ध नभई करोडौं जनताबीचको सम्बन्ध भएकाले सोही बमोजिम अगाडि बढ्नुपर्ने बताउनुभयो ।
काठमाण्डौस्थित भारतीय राजदूतावासका प्रथम राजनैतिक सचिव रोहित मिश्राले दुबै देशका सरकारहरु परिवर्तन भैरहने कुरा भएपनि दुबै देशका जनताको सम्बन्ध भने कहिले पनि परिवर्तन नहुने खालको रहेको बताउनुभयो । महाधिवेसनमा ७७ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएकको थियो ।रासस


