ऊर्जामा विद्यावारिधि गर्ने डा. शाही कर्णालीकै पहिलो

कर्णाली: कर्णाली प्रदेशबाट पहिलोपटक दिनेशकुमार शाहीले ऊर्जा विषयमा विद्यावारिधि गरेका छन् ।

विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्येको एक मानिने जापानको टोक्यो सिटी विश्वविद्यालयबाट शाहीले विद्यावारिधि गरेका हुन् । ऊर्जाको खानी मानिने कर्णालीबाट ऊर्जामा विद्यावारिधि गर्ने शाही पहिलो बनेका छन् । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।

नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तरसमेत गरेबका उनले विकासोन्मुख देशहरुले ऊर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुसन्धान गरेका छन् । रास्कोट नगरपालिका–५ कालीकोटको एक सामान्य परिवारमा जन्मिनुभएका शाहीको यो अध्ययनले नेपालको ऊर्जा विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्ने आशा गरिएको छ ।

विद्यावारिधि प्राप्तिपश्चात उनले भने, “कर्णालीजस्तो अत्यन्त न्यून गुणस्तरको प्रारम्भिक शिक्षा लिएर अत्यन्त उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा हासिल गरेका अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्ति तथा अनुसन्धानकर्तासँगको प्रतिस्पर्धाबाट शिक्षा हासिल गर्न त्यति सहज भने पक्कै छैन । यद्यपि मलाई सधैँ केही नयाँ गरौँ र सिकौँ भन्ने कुरामा अलि बढी ध्यान हुन्छ ।”

विद्यावारिधिका क्रममा शाहीका अनुसन्धानमूलक दुईवटा सामग्री विश्वकै नम्बर एक जर्नल एल्सेभिरद्वारा प्रकाशित ‘इनर्जी एण्ड विल्डिङ’ र ‘विल्डिङ एण्ड इन्भारोमेन्ट’ मा प्रकाशित भएका छन् । साथै उनले विश्वविद्यालयबाट विश्वका धेरै गोष्ठी, सेमिनारमा सहभागी भएर आफ्ना प्रस्तुति दिइसकेका छन् । उनले टोक्यो विश्वविद्यालयबाट बेस्ट प्रिजेन्टेशन अवार्ड र हाइ इम्प्याक्ट जर्नलमा प्रकाशन गर्न सफल भएकामा अवार्ड प्राप्त गरेका छन् ।

एल्सेभिर जर्नलमा प्रकाशित शाहीका आलेखमा घरमा प्रयोग हुने तथा समग्र ऊर्जाको तर्कसङ्गत प्रयोगका बारेमा उल्लेख गरिएको छ । उनको यो अध्ययन ऊर्जा क्षेत्रको बहसमा नयाँ अवधारणा मानिएको छ । विकसित देशहरुले गर्ने अत्यधिक ऊर्जाको प्रयोगले वातावररणमा अत्यन्त नकारात्मक असर परिरहेको बेला दिगो विकासको अवधारणाअनुसार ऊर्जा खपत र वातावरणीय सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा पनि उनले अनुसन्धान गरेका छन् ।

नेपालजस्ता विकासशील देशहरुले विकसित देशहरुले गरेको भूलबाट पाठ सिकेर नयाँ विधिबाट अघि बढ्नुपर्नेमा उनको निष्कर्ष छ । त्यसका लागि उनले तर्कसङ्गत अवधारणा पनि अघि सारेका छन् । विश्वमा सबैभन्दा बढी ऊर्जा घरायसी प्रयोजनमा खपत गरेको पाइन्छ । भविष्यमा नेपालमा पनि घरायसी प्रयोजनमा ऊर्जाको खपत बढ्नसक्ने अनुमान गर्दै उनले यसमा के गर्न सकिन्छ भन्ने कुरामा नयाँ अवधारणा अघि बढाइएको बताए ।

नेपालका धेरै जाडो हुने र अत्यधिक गर्मी हुने ठाउँमा घरहरुलाई सुधारेर घरभित्रको तापक्रम प्राकृतिक तरिकाले वृद्धि गरी २० प्रतिशतसम्म ऊर्जा बचत गर्न सकिने विधि पनि उनले अध्ययनमा देखाएका छन्, जसलाई उनको अनुसन्धानको महत्वपूर्ण पक्ष ठानिएको छ ।

उनी भन्छन्, “नेपाल विश्वको सबैभन्दा कम प्रतिव्यक्ति ऊर्जा खपत गर्ने देश हो । उत्पादित ऊर्जाले मानिसका सामान्य आवश्यकता पनि परिपूर्ति गर्न सकिएको देखिँदैन । त्यसैले ऊर्जाको विकास गर्न त जरुरी छ नै । त्यसका लागि दिगो विकास र तर्कसङ्गत तरिकाले राष्ट्रिय ऊर्जा रणनीति बनाउनु जरुरी छ । यसमा गहिरो अनुसन्धान र तथ्यहरुको विश्लेषण गरेर निष्कर्षमा पुग्नु जरुरी छ । नत्र हामी पनि अन्य देशजस्तै हतारमा निर्णय गरी पछि पछुताउने अवस्थामा हुनसक्छौँ ।”

भौगोलिक जटिलताका कारण कर्णालीलाई अझै पनि ‘नेशनल ग्रिड’मा जोड्न नसकिएको भएपनि प्रशस्त नवीकरणीय ऊर्जाका स्रोतको समुचित उपयोग गरी विकेन्द्रीकृत ऊर्जा प्रयोगको अवधारणामा जाँदा बढी उपयोगी हुने उनको भनाइ थियो । उनले भने, “नेपालजस्तो ‘रन अफ रिभर’ भएको देशले वातावरणीय अनुकूलतालाई ध्यानमा राखी नवीकरणीय ऊर्जाको उत्पादनमा जोड दिएर विश्वमै उदाहरणीय काम गरेर देखाउने महत्वपूर्ण अवसर छ । यो मौकालाई कर्णाली र नेपालले गुमाउनु हुँदैन ।”

शाहीले अध्ययन, अनुसन्धानका साथै जापानका विभिन्न कम्पनीमा काम गरी जापानी कम्पनी व्यवस्थापन र हस्पिटालिटी, समय व्यवस्थापन, सानो कुरामा ख्याल राख्न उत्कृष्ट मानिने जापानी व्यवस्थापनमा समेत उनले दकखल राखेको जनाइएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।