स्वास्थ्यकर्मीको बिदा बन्द,कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना

डोटी, चैत १४ गते । भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन् ।

भारतबाट घर आएका नागरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टिन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रहन निर्देशनसमेत दिइएको छ । अत्यावश्यकबाहेक अन्य कामका लागि यहाँका स्वास्थ्यकर्मीको बिदासमेत बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो ।

जिल्लामा कोरोना महामारीको फैलिन नदिन तथा रोकथामका लागि जिल्लाको जोरायल गाउँपालिकाले अत्तरिया–स्याउले जोड्ने सुदूरपश्चिमका पहाडी जिल्लाको एक मात्र भीमदत्त राजमार्गको बुडरमा यात्रुको दिनहुँ स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना गरेको छ । चौबीसैँ घण्टा स्वास्थ्यकर्मी रहने गरी उक्त हेल्थ डेस्कको स्थापना गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

जोरायल–२ छतिवनको बुडरमा उक्त हेल्थ डेस्कको सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको हो । प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा स्थापना गरिएको हेल्थ डेस्कले प्रभावकारी स्वास्थ सेवा दिने अपेक्षा गरिएको जोरायलका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिनुभयो ।

यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी शुरु गरिएको उक्त हेल्थ डेस्क नागरिकको स्वास्थ्य र सुरक्षाका हिसाबले निकै प्रभावकारी हुने उहाँको भनाइ छ । यसैगरी विगतमा यहाँका सरकारी स्कूलमा स्थापना गरिएका क्वारेन्टिन भवन स्वास्थ्य सामग्रीसहित अहिले पुनः तयारी अवस्थामा राखिएका छन् । भारतबाट रोजगारी गरेर घर आउने नागरिकलाई अनिवार्यरूपमा १४ दिन क्वारेन्टिनमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा यही चैत १२ गते बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णयसमेत गरेको छ ।

होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सीमानाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रबाट भारतदेखि घर फर्किनेको सीमानाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत १० दिनको अवधिमा सुदूरपश्चिममा कम्तीमा आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् ।

भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरले भारतसँग सीमा जोडिएका बैतडी, दार्चुला, कैलाली तथा कञ्चनपुरसहितका चार जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।