राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय

खोटाङ – राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर खोटाङमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले बुधबार सचेतना गोष्ठी गरेको हो ।

आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, पत्रकारलगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी)ले बताउनुभयो । “जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषतासम्मका बारेमा जानकारी दिन सचेतना गोष्ठी गरिएको हो”, उहाँले भन्नुभयो, “सहभागीलाई गनगणनाका प्रश्नावली, घर परिवार लगत सूचीकरण, जनगणना २०७८ का मुख्य दिनहरु, जनगणनामा समेटिने विवरणका बारेमा पनि जानकारी गराइएको छ ।”

जनगणना अभियान २०७८ अन्तर्गत दिक्तेलमा यही चैत ३ गते जिल्ला जनगणना कार्यालय स्थापना गरिएको थियो । आगामी वैशाख १ गतेदेखि ४ गतेसम्ममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका कार्यक्षेत्र रहने गरी दिक्तेलमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्य क्षेत्र रहने गरी हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा, बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिका कार्य क्षेत्र रहने गरी खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा तथा रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐँसेलुखर्क गाउँपालिका कार्य क्षेत्र रहने गरी रावाबेँसी गाउँपालिकाको कुभिन्डेमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिने जनाइएको छ । दुई चरणमा हुने राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक र गणक गरी करिब ३६० जनशक्ति परिचालन गरिने कोइरालाले जानकारी दिनुभएको छ ।

नियुक्त भएका सुपरिवेक्षकले आगामी वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घर परिवार सूचीकरणको काम गर्ने जनाइएको छ । यस्तै गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ । पहिलो चरणमा सुपरिवेक्षकद्वारा प्रत्येक घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका पुरुष, महिलाको सङ्ख्या, परिवारको कृषिसम्बन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यावसायिक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण सङ्कलन गरिने कोइरालाले जानकारी दिनुभयो । दोस्रो चरणमा मुख्य प्रश्नावलीमार्फत घरपरिवार तथा व्यक्तिको जनसाङ्ख्यिक तथा अन्य विवरण सङ्कलन गरिने कार्यालयले जनाएको छ ।

जिल्ला जनगणना कार्यालयका अनुसार चैत २० गतेसम्ममा सुरपरिवेक्षकको सूची सार्वजनिक गर्ने, चैत १९ गतेदेखि २५ गतेसम्म स्थानीय जनगणना अधिकारी तालीम सञ्चालन गर्ने, चैत २९ र ३० गते स्थानीय जनगणना अधिकारीको नियुक्ति गर्ने, वैशाख १ गतेदेखि ४ गतेको बीचमा स्थानीय जनणनाको कार्यालय स्थापना गर्ने, वैशाख ११ गतेदेखि १५ गतेभित्रमा जनगणना सामग्री स्थानीय तहमा पठाउने तयारी गरिएको छ । यस्तै वैशाख १३ गतेदेखि १५ गतेसम्ममा सुपरिवेक्षक नियुक्ति गरी जिम्मेवारी तोक्ने र तालीमको तयारी गर्ने, वैशाख १५ गतेभित्र गणकको प्रारम्भिक सूची सार्वजनिक गर्ने, वैशाख १६ गतेदेखि २२ गतेको बीचमा सुपरिवेक्षक तालीम आयोजना गर्ने, वैशाख २४ गतेदेखि २५ गतेभित्र सुपरिवेक्षक कार्यक्षेत्रमा पुग्ने, वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घर परिवार सूचीकरण गर्ने कार्यतालिका तयार गरिएको छ ।

जेठ १० गतेदेखि १४ गतेसम्ममा गणक नियुक्ति तथा जिम्मेवारी तोक्ने, जेठ १७ गतेदेखि २२ गतेसम्म गणकलाई तालीम दिने, जेठ २४ गते गणक कार्यक्षेत्रमा पुग्ने र जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने, जेठ २५ गतेदेखि असार ८ गतेकै अवधिमा गणनाको अनुगमन तथा सुपरिवेक्षणको काम हुनेछ । असार १५ गतेदेखि २० गतेसम्म सङ्कलित फारम रुजु गरी बुझ्ने, असार २३ गतेदेखि २७ गतेसम्ममा कन्ट्रोल फाराम दर्ता गर्ने, असार २८ गतेदेखि ३० गतेभित्र सङ्कलित फारम विभागमा पठाउने र असार मसान्तमा जनगणनाको कार्यालय बन्द हुने जनाइएको छ । विसं २०६८ को जनगणनाअनुसार दश स्थानीय तह रहेको खोटाङ जिल्लाको कूल जनसङ्ख्या दुई लाख छ हजार ३१२ थियो । यसमध्ये १७ हजार ६६२ विदेशमा रहेका थिए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।