शान्तिको कामना गर्दै पशुपतिमा देशोद्धार पूजा एवं वत्सलेश्वरी जात्रा

काठमाडौँ,देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म यो जात्रा गरिन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरू जात्रा गर्ने परम्परा छ । जात्राको पहिलो दिन आज पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरी उपत्यकाका प्रमुख देवी देवतालाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरिन्छ ।

आज बेलुकी ५ बजे पशुपतिनाथ मन्दिरमा भट्ट रामकान्त भट्टले पूजाआराधना गरेपछि उहाँकै नेतृत्वमा उपत्यकाको भित्री भागका देवीदेवतालाई निमन्त्रणा गरिने पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो । निमन्त्रणादेखि जात्राका सबै कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने छ ।

निमन्त्रणा यात्रा पशुपति पश्चिममूलढोकाबाट जयवागेश्वरी–ताम्रेश्वर–भण्डारेश्वर–ज्ञानेश्वर–नक्साल भगवती–कमलाक्षी–असन–हनुमानढोका–कुमारीघर–जैसीदेवल–लगन डबली–पचलीभैरव–यङ्गाल–मरु गणेश–नरदेवी–टेबहाल हुँदै पशुपतिस्थित वत्सलेश्वरी मन्दिरमा आएर निमन्त्रणा सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

जात्रा सम्पन्न गर्न कोषले सञ्चालक परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले कोरोना महामारीलाई ध्यान दिँदै व्यवस्थित जात्रा गर्ने तयारी गरेको उहाँले बताउनुभयो । आज निमन्त्रणा गरेपछि भोलि पशुपति क्षेत्रमा सबै देवताको निमन्त्रणा पूजा गरिन्छ । आजको निमन्त्रणालाई दुदु च्याँ च्याँ भनिन्छ ।

आज निम्ता गरेपछि ती देवीदेवताका साथै त्यस क्षेत्रका स्थानीयवासी पनि पशुपतिमा जात्रा हेर्न आउँछन् । जात्राको मुख्य दिन चैत २९ गते बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको रथ निकालिन्छ । रथलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाइन्छ ।

यो जात्रामा पशुपति क्षेत्रमा बसोबास गर्ने नौवटै जातिका मानिस उपस्थित हुनुपर्ने प्राचीनकालदेखिको भनाइ छ । तीमध्ये एउटा जातिमात्र उपस्थित नभए पनि जात्रा नहुने नियम छ । गत वर्ष पनि कोरोना महामारीका कारण दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा सम्पन्न गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।