विस्थापित हुँदै हात्ती

नारायण अधिकारी, चितवन, २ वैशाख । जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको जनाइएको छ ।

हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो सङ्ख्या घटेर ३५ मा झरेको छ । संस्थाका पूर्वअध्यक्षसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउनुहुन्छ । सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएपछि हात्ती विस्थापित हुन थालेको उहाँको भनाइ छ ।

दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने हात्ती पाल्न मासिक रु एक लाखभन्दा बढी खर्च हुने व्यवसायी बताउँछन् । भारतबाट भाडामा ल्याएकामध्ये तीनवटा हात्ती मात्र यहाँ बाँकी रहेको बताइएको छ । व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रु ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची १ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची १ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीका अनुसार पर्यटक नआउँदा हात्ती पाल्न कठिन भएको हो । पाल्नै नसकेर हात्ती जिल्लाबाट विस्थापित भएको उहाँको भनाइ छ । भारत सरकारले निजी क्षेत्रलाई हात्ती पाल्न अनुमति दिएर सहयोग गरेको भए पनि नेपालमा सहयोग नपाउँदा हात्ती विस्थापित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिमा र चरिचरनमा सरकारले सहयोग गरे हात्ती विस्थापित हुँदैन ।”

कुहिएर खेर जाने घाँससमेत सरकारले नदिँदा हात्ती पाल्न मुस्किल भएको तिवारीले गुनासो गर्नुभयो । पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा प्रयोग हुने हात्ती पर्यटकलाई चढाएर ठूलो मात्रामा राजस्वसमेत सङ्कलन भएको व्यवसायी बताउँछन् । तिवारीका अनुसार हात्ती पाल्न मुस्किल भएपछि विस्थापित हुनबाट रोक्न सहयोग पु¥याउन वनमन्त्री, सचिव, निकुञ्ज विभागका महानिर्देशकलगायतका उच्च अधिकारीसँग हारगुहार गरिएको भए पनि सुनुवाइ भएको छैन ।

सौराहामा युनाइटेड हात्तीमा आबद्धबाहेक सपना भिलेजका आठ र ओम रिजालका आठ वटा हात्ती सञ्चालनमा रहेका छन् । विस्थापित भएका हात्ती बूढा र अशक्त खालका भए पनि बाँकी रहेका हात्ती वयस्क र टाठा भएकाले सफारी र खेलकूदमा कुनै समस्या नहुने व्यवसायी बताउँछन् । पशु अधिकारकर्मीले उठाएका सवाललाई मनन गर्दै सौराहामा हात्तीलाई हेरेर रमाउनका लागि हात्ती सेन्चुरी बनाउने तयारी गरिएको छ । सरकारी निकायबाट जग्गा प्राप्त भएमा निजी क्षेत्र काम गर्न तयार रहेको तिवारीले जानकारी दिनुभयो ।

क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे हात्ती व्यवस्थापनका विषयमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउनुहुन्छ । युरोपका मुलुकबाट आउने पर्यटक हात्ती चढ्न नै चाहँदैनन् । नेपाली, भारतीय र चीनका पर्यटक मात्रै हात्ती सफारी भनेपछि हुरुक्क हुने गर्दछन् । तत्कालका लागि निकुञ्ज आडमा निजी हात्तीका लागि चरनको व्यवस्था भए व्यवसायीलाई धेरै राहत हुने र हात्ती विस्थापन कम हुने घिमिरेको बुझाइ छ ।

हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुङ्गी हेरेर रमाउने गरेको घिमिरेको भनाइ छ । गत वर्ष कोरोना सङ्क्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले व्यवसायीले चरनका लागि माग गरेको भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट कुनै निर्णय भइनसकेको बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।